arrow

खोटाङमा काँग्रेसको विजय जुलुसमा आक्रमण गर्ने ३ जना प्रहरी नियन्त्रणमा, स्थिती सामान्य

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
rupakot_majhuwagadhi_map.png

काठमाडौं । खोटाङ त्रिवेणी चोकमा नेपाली काँग्रेसको विजयजुलुसमा आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा मतगणना स्थगित गरिएको थियो । 

नेपाली काँग्रेसले निकालेको विजयी जुलुसमा एमाले कार्यकर्ताले आक्रमण गरेपछि साँझ दोहोरो झडप भएको भएपनि अहिले सबै नियन्त्रणमा आईसकेको र वातावरण शान्तिपूर्ण रहेको जिलल प्रहरी कार्यालय खोटाङका  डिएसपी नवीन प्रधानले जानकारी दिए । 

रुपाकोट मझुवागढी नगरपालिका–१ मा काँग्रेस विजय भएपछि दिक्तेल बजारमा निकालिएको विजयी जुलुसमा एमालेका कार्यकर्ताले दिक्तेलस्थित त्रिवेणी चोकमा आक्रमण गरेको थियो । दुई पार्टीबीच भएको दोहोरो झडपपछि एमालेका भीम राई, सुवास आचार्य र शिवसाकार खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

झडपका क्रममा नेपाली काँग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित प्रकाश श्रेष्ठ, क्रियाशील सदस्य बिनिता श्रेष्ठलगायत घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको काँग्रेस खोटाङ क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईले जानकारी दिए । 

साँझको समयमा दोहोरो झडप भएपछि उग्ररुप लिने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारका सबै होटल बन्द गराएको छ । झडपपछि दिक्तेल बजारको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

दुई पार्टीबीच दोहोरो झडप भएपछि काँग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणना स्थगित गराएको छ । झडप भएलगत्तै काँग्रेस कार्यकर्ताले शान्तिपूर्ण विजयी जुलुस भइरहँदा बिनाकारण एमाले कार्यकर्ताले आक्रमण गरेको भन्दै आक्रमणमा सहभागीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै मतगणना स्थगित गराएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ