arrow

बबई नदीसम्म पुगेर हजारौं दाङवासीले दिए व्यापारी श्रेष्ठमाथि श्रद्धाञ्जलि

logo
शरद रेग्मी,
प्रकाशित २०७४ असार १७ शनिबार
dang_sabyatra.jpg

दाङ । अपहरणपछि हत्या गरिएका तुलसीपुर उपमहानगरपालिका ५ का ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठको बबई नदीमा अन्त्येष्टि गरिएको छ । तुलसीपुरको शितलपुर स्थित बबई नदीमा गरिएको श्रेष्ठको अन्त्येष्टिमा हजारौंको सहभागिता रहेको छ । जेठ २६ गते राती अपहरित श्रेष्ठ २१ दिनपछि शुक्रबार सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे लेक भञ्ज्याङ जंगलमा मृत फेला परेका थिए । 

रकम असुल्नकै लागि अपहरण गरी हत्या गरेको घटना अनुसन्धान टोली प्रमुख राप्ती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले बताए । हत्या गरिसकेपछि पनि अपहरणकारीले घरमा फोन गरेर ३ करोड फिरौती मागेको उनले बताए । अपहरणकारीहरु पटकपटक जेल परेर छुटेका आपराधिक पृष्ठभूमिका व्यक्तिहरु रहेको उनले जानकारी दिए।

यता दाङका उद्योगी व्यापारीहरुले मध्यपश्चिम प्रहरी प्रमुख विजयलाल कायस्थसँग उद्योगी व्यापारीहरुको सुरक्षाका लागि ध्यानाकर्षण गराएका छन । उनीहरुले शनिवार दाङ पुगेका डिआईजी कायस्थसँग एक पछि अर्को घटना घट्नु दुखद् भएको भन्दै तत्काल सुरक्षाको ग्यारेन्टी गर्ने बातावरण मिलाउन आग्रह गरेका छन । सो अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले श्रेष्ठको शोकमा आफुहरुले तीन दिन बजार बन्द गरेको भन्दै तत्काल दोषीहरुलाई पक्राउ गरी कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

अपहरण र हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जंकोट–१ रोल्पा घर भई घोराही–४ बस्ने ४० वर्षीय रमेश भनिनेमनबहादुर पुन, दाङको पवननगर–१ घर भई हाल तुलसीपुर–६ बस्ने २३ वर्षीय रुगत थापा मगर, तुलसीपुर–१२ का २५ वर्षीय कमल भनिने अविरल महतरा र घोराही–१४ नयाँ बजारकी ३८ वर्षीया जमा पुन छन् ।

यसैगरी झिम्पे–४, सल्यानका ३५ वर्षीय मानबहादुर भण्डारी, तुलसीपुर–६ की १७ वर्षीया पूजा घर्ती मगर, शान्तिनगर–२ घर भई हाल तुलसीपुर–६ बस्ने ४० वर्षीय निर्मल भनिने टीकाराम घर्ती फरार रहेको प्रहरीले जनाएको छ । अपहरणमा टीकारामले आफ्नै छोरी पूजालाई प्रयोग गरेको प्रहरीले जानकारी दिएको छ । पूजाले फोन गरेर व्यवसायी श्रेष्ठलाई सल्यानसम्म लगेको र त्यसपछि अन्य समूहले अपहरण गरेको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए । फरार अभियुक्तबारे जानकारी दिनेलाई प्रहरीले एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।

श्रेष्ठसँगै अपहरित भनिएका घोराही हापुरका २८ वर्षीय रणबहादुर घर्ती पनि फरार छन् । उनको पनि घटनामा संलग्नता भएको हुनसक्ने प्रहरीको आशंका छ । बा ११ च १०७१ नम्बरको निजी सेतो रंगको कारमा तुलसीपुरबाट निस्किएका श्रेष्ठको गाडी सल्यानको कपुरकोट गाउँपालिका–५ मेलखोलास्थित भित्री कच्ची सडकखण्डमा फेला परेको थियो । उक्त गाडीको साथमा भारतीय एचपी ११८६४८ नं को गाडी पनि फेला परेको थियो ।यता श्रेष्ठको बिभत्स तरिकाले अपहरण पछि हत्या गरिएको भन्दै दाङका बिभिन्न संघसंस्थाहरुले बिरोध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ