काठमाडौँमा नदी फोहर गर्ने आँखा अस्पतालदेखि सांसदसम्म, २९ लाख जरिवाना
पूर्णप्रसाद मिश्र,
प्रकाशित २०७४ असार १७ शनिबार
224
Shares
पूर्णप्रसाद मिश्र, काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीमा फोहर फाल्नेविरुद्ध कडा कारबाही थालिएको छ । यसक्रममा अस्पतालदेखि सांसदसमेत कारबाहीमा परेका छन् ।
प्रदूषणमुक्त राजधानी निर्माणको अभियान जारी रहेका बेला नदी किनारमा फोहर फाल्नेहरुलाई तह लगाउन काठमाडौँ र ललितपुर महानगरपालिकाले कारबाही अभियान पनि साथै सञ्चालन गरेका छन् ।
अभियानका दौरान वितेका चार वर्षमा एक हजार ३ सय ८१ जनालाई कारबाही गरिएको वाग्मती सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले बताए । “मीनभवनमा भिएस निकेतन कलेजको भवन नदी किनारसम्म बनाउने सांसद बाबुराम पोखरेल र तिलगङ्गा आँखा अस्पताललाई पनि कारबाही गरिएको छ”–उनले भने ।
उपत्यकाका नदीमा फोहर फाल्ने व्यक्ति र संस्थाबाट कारबाहीस्वरुप रु साढे २९ लाख जरिवाना गरिएको छ । कारबाहीबाट हालसम्म काठमाडौँ र ललितपुर महानगरपालिकाले २९ लाख ४९ हजार ९०० राजस्व सङ्कलन गरेका छन् ।
उपत्यकाका नदी र चक्रपथलगायत स्थान सफाइ गरी हालसम्म १० हजार ८४५ मेट्रिक टन फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानले १५० हप्तासम्म नदीमा फोहर फाल्ने व्यक्तिलाई कारबाही गरेन ।
सफाइ महाअभियानको १५० हप्ताका बीच महानगरपालिकाले सङ्कलन गरिएको फोहर नउठाएपछि तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले फोहर फाल्ने जिम्मा लिएका अधिकारीलाई पनि कारबाही गरेको बोहराले बताए । शनिबार मात्रै उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
वाग्मती सफाइ महाअभियानको २१६औँ हप्तामा त्रिपुरेश्वर नयाँपुल गुसिन्गाल क्षेत्रमा सफाइ गरी १९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियन्ता बोहराले बताए । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, पहिलो पाइला, साया , न्यानो स्पर्श, जीवन विज्ञान, गायत्री परिवार, हलेशी डेकोर, युरेशिया रेयुकाइ, एस जि आई नेपाल, नेपाल विज्ञापन सङ्घ, सुपा देउराली युथ नेटवर्क, निर्माण नेपाल, ब्लु क्रस अस्पताल एम्बुलेन्ससहित विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता थियो । काठमाडौँ महानगरपालिका वडा नं ११ का स्थानीय समुदायको पनि शानिबार पनि बाक्लो उपस्थिति थियो ।
वाग्मती सफाइ महाअभियानकी सद्भावना दूत नायिका मनिषा कोइराला, पूर्वसचिव कृष्णचन्द्र पौड्याल, पूर्वसचिव किशोर थापा, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठ, गायत्री परिवारका राजु अधिकारी, जीवन विज्ञानका एल पी भानु शर्मा, डा लक्ष्मी पौड्याल, अर्जुन धरेल, सागर थापा, प्रहरी उपरीक्षक गणेश ऐर, गोकुल थापा, चक्रबहादुर चन्द, किशोरसिंह शाही, राजकुमार भट्टराई, सन्तोष श्रेष्ठ, सुष्मा शर्मा, गोविन्द काफ्ले, रामशरण कार्की, कौशिल्या घिमिरे, जनार्दन अधिकारीलगायतका व्यक्तिको सफाइमा सक्रियता रहयो ।
पुडासैनी मैत्री समाज र ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ले गुह्येश्वरीमाथिको वाग्मती नदी किनारमा गर्दै आएको सफाइको १७७ आँै हप्तामा आज गोठाटार पहेँलो पुलमुनिको नदीमा सफाइसँगै बगैँचा गोडमेल गर्यो । सफाइमा १०० जनाको सहभागिता थियो । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सो अवसरमा हनुमान वाटिकामा पनि सफाइसँगै बगैँचा गोडमेल गरियो । हनुमान बाटिकामा १४ फिट अग्लो नेपालकै सबैभन्दा ठूलो पञ्चमुखी हनुमानको स्तम्भ स्थापना दुई साताभित्रमा निर्माण गरिने समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए ।
रुद्रमती सफाइको १७५ औँ हप्तामा शनिबार रातोपुलदेखि ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिरसम्म जनचेतना मूलक सरसफाइसँगै घरदैलो अभियान गरियो । सफाइमा काठमाडौँ महानगरपालिका ३० नम्बर वडाका अध्यक्ष दलबहादुर कार्की सहित सदस्यहरुको पनि सहभागिता थियो । शानिबारको सफाइबाट एक मेट्रिक टन फोहर सङ्कलन गरी व्यवस्थापन गरियो । सफाइमा ३०० जना भन्दा बढीको सहभागिता थियो ।
विष्णुमती सफाइको १४७ औँ हप्तामा नयाँ वसपार्क पुलमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । तिलगङ्गा महिला समूहले वाग्मतीको तिलगङ्गा क्षेत्रमा गरेको १२३ औँ हप्ताको गरेको जनचेतनामूलक सफाइसँगै घरदैलो अभियानमा एक मेट्रिक टन फोहोर व्यवस्थापन गरियो ।
चक्रपथ सफाइको १२ औँ हप्तामा आज सामाखुसी चोकबाट गोङ्गबुसम्म सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३८० जनाको सहभागिता थियो । शानिबार चक्रपथ सफाइका क्रममा सडकबाट ५०० मिटरसम्म रहेका अव्यवस्थित तार हटाइएको छ ।
सकारात्मक मातृशक्ति आवाजले मीनभवन आलोकनगरमा गर्दै आएको सफाइको १२औँ हप्तामा शनिबार एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ५५ जना महिलाको सहभागिता थियो । सो अवसरमा समाजमा सकारात्मक परिवर्तन ल्याउन वडा न ३१ मा विशेष सचेतना कार्यक्रम पनि गरियो । रासस