arrow

सास्ती पाउन मन छ ? नारायणगढ-मुग्लीन सडकखण्ड जानूस्  

logo
नारायण ढुङ्गाना,
प्रकाशित २०७४ असार १७ शनिबार
Mugling-Narayanghat.jpeg

रत्ननगर (चितवन)। पोखराबाट चितवनको माडीमा दिदी पु¥याउनका लागि ज्योति रानाभाट मुग्लिन आइपुग्दा शुक्रबार बिहान खसेको पहिरोले उहाँ त्यही रोकिए। सानी नानीसहितको दिदी र उहाँ सडक अवरुद्ध भएपछि अलपत्र परे । घरी सिटमा त घरी सडकमा गरेर उनीहरुले समय विताइरहेका छन् । बच्चाको पिडा उस्तै थियो, “निद्रा नै भएन, बिरामी परिएला जस्तो भो”–ज्योतिले भनिन्, “न फर्कौँ, न जाँउँ भने भनेजस्तो भा’छ ।” अरु यात्रुको पनि हरिविजोग भएको उनको भनाइ छ । 

पैसाले धान्न नसक्ने अवस्था भएको छ । अझ दुई, तीन घण्टामा बाटो नखुले पुनः पोखरा फर्कने उनले बताए। कालिखोलाको पहिरोले चितवनको नारायणगढ–मुग्लिन सडक थुनिएको झन्डै तीस घण्टा हुन लाग्यो । जति जाम लम्बिदै छ, उति यात्रुहरु प्रभावित हुँदै छन् । पर्याप्त पैसा नभएकाको राती गाडी मै बास प¥यो । भोकभोकै सुत्ने अवस्था आयो । कोही भने चाउचाउ चिउराको भरमा बसे । 

सडक अवरुद्ध भएपछि महिला र बालबालिका बढी प्रभावित भएका छन् । चितवनकी पत्रकार इन्दिरा दाहाल पनि सोही पहिरोमा रोकिए। उनी एउटा संस्थाले दिएको अलैँचीको विरुवा चितवनको विकट काउलेमा वितरण गरेर फर्कदा जाममा परेका हुन्। “शुक्रबार ८ बजे पहिरो खस्यो, अनि फसियो”– उनले भने– “राति यात्रुको अवस्था दर्दनाक थियो ।” 

दाहालकाअनुसार बढी महिला र बालबालिका प्रभावित थिए । पैसा हुनेहरु मुग्लिनका होटलमा बस्न आए । नहुनेहरु चाउचाउ चिउराको भरमा गाडीमै रात बिताए । कतिपय सडकमै अलपत्र देखिन्थ्ये । रातभर बालबालिकाहरु चिच्चयाइरहेका थिए । यात्रुका अनुहारमा पिडा छचल्किएको थियो । 

मुग्लिनका सबै होटल भरिएपछि कतिपय यात्रु त्यसै सडकमा फर्किए । जामका कारण कतिपय जहाँबाट आएका उतै फर्किए भने पैसा हुनेहरु नौबिसे हुँदै हेटौँडातर्फ लागे । पश्चिम जानेहरु पोखराहुँदै बुटबलतर्फ लागे । नहुनेहरु जतिबेला बाटो खुल्छ उतिबेलै जाने भन्दै कुरिरहेका छन् । अझ वीच बाटोमा अड्किएका यात्रु नजिक पसल नहुँदा किनेर खाने अवस्था पनि नभएको प्रत्यक्षदर्शी बताउँछन् । 

तीनवटा बिहेका लागि हिँडेका गाडीमध्ये एउटा बिहे स्थगितै गरेर फर्किए । एउटा बिहेको दुलाहा र केही जन्ती हिँडेर माथिबाट पहिरो काट्ने भन्दै गएको पत्रकार दाहालले बताए। 

अर्को बिहेका जन्ती भने बैकल्पिक बाटो खोज्दै फर्किए । अर्का पत्रकार राजु चौधरी पनि सोही जाममा अड्किएका छन् । काठमाडौँबाट चितवन आउँदा मुग्लिन नजिकै कालिखोलामा पहिरो गएकाले शुक्रबार देखिनै उनी पनि रोकिएका हुन् । पहिरो भन्दामाथिबाट छिचोलेर जाने प्रयास पनि उनको असफल भयो । दैनिक १० हजार गाडी हिँड्ने उक्त सडकमा अहिले हजारौँ यात्रु अलपत्र छन् । 

“कतिपयले पहिरोमाथि डाँडाबाट बाटो काटे, कतिले पहिरो बाटै ज्यान जोखिममा राखेर बाटो काटे”–पत्रकार चौधरीले भने, “पहिरोमा एक जनाको ज्यान गएपछि अहिले प्रहरीले हिँड्न दिएको छैन ।” शुक्रबार बिहान सवा ८ बजे खसेको पहिरो एकपछि अर्को थपिएकाले बाटो खुलाउन सकिएको छैन । सक्ने गाडी जति फर्किएका छन् भने बीचमा अड्किएका सवारीको अहिलेपनि ठूलो जाम छ । १०÷१२ किलोमिटरसम्म दुईतर्फ नै गाडीको जाम रहेको प्रहरीले जनाएको छ । 

चितवनबाट जाने गाडीलाई जामपछि भरतपुर आसपासमै रोकेको प्रहरी उपरीक्षक दीपक थापा बताउँछन् । कालिखोलामा २०० मिटर माथिबाट खसेको पहिरो करिब ५० मिटर लम्बाइको छ । चितवनका ट्रफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्त राति जोखिम भएकाले बिहान पाँच बजेबाट पुनः पहिरो पन्छाउन थालिएको बताउँछन्। अझै सडक खुल्न केही घण्टा लाग्ने उनले बताए । अहिलेको पहिरो यो वर्षकै ठूलो रहेको जनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ