रामपुरलाई ‘रामराज्य’ बनाउने सौभाग्य मिल्यो रमणलाई, शानदार जनादेश
एमालेको लाल गढ भत्कियो
प्रकाशित २०७४ असार १८ आइतबार
602
Shares
पाल्पा । पाल्पाको रामपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका रमण थापा विजयी भएका छन् । थापा एमाले उम्मेदावारलाई १२ सय ९ मतले उछिन्दै विजयी भएका हुन् ।
यस्तै, उपमेयरमा पनि काँग्रेसकै विष्णुदेवी आचार्य विजयी भइन् । मेयरमा थापाले आठ हजार ८ सय ८५ ल्याई विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार राजु श्रेष्ठ १२ सय ९ मतले पछि परे उनले ७ हजार ६ सय ७६ मत ल्याए । उपमेयरमा काँग्रेस उम्मेदवार घिमिरेले ८ हजार ५ सय २८ मत ल्याउँदा एमाले उम्मेदवार दुर्गा देवी राना ६ सय ४ मतले पछि परिन् । उनले ७ हजार ९ सय २४ मत ल्याइन् । जनमोर्चाका उम्मेदवारले मेयरमा एक सय १४ र उपमेयरमा एक सय ११ मत ल्याए ।
को हुन् रमण थापा
सधैँ एमालेले जित्दै आएको रामपुरमा रमण थापाले शानदार जनादेश पाए । पाल्पाको क्षेत्र नम्बर १ मा पर्ने रामपुरमा रमणले जित मात्रै हासिल गरेनन् । आफुले सोचेको जस्तो रामराज्य बनाउने भारी जनादेश पाएका छन् । उपमेयर र अन्य सदस्यमा पनि काँग्रेसकै वर्चश्व रहेकाले रमणलाई इतिहास रच्ने अवसर जुरेको छ ।
रमणको विगत हेर्दा निकै उतारचढावपूर्ण छ । मुलुकमा सत्याग्रह चल्दै थियो २०४२ सालमा, नेपाली काँग्रेस र लौहपूरुष गणेशमान सिंहको नेतृत्वमा प्रजातन्त्र ल्याउन पंचायत विरुद्ध देशव्यापी आन्दोलन भइरहेको थियो । त्यही बेला स्याङजाको एउटा विद्यालयमा एक बालकले सत्याग्रहको पक्षमा विद्रोह गर्दा जेल कोचिनु परेको थियो । तीनै बालक हुन् अहिलेको रामपुर नगरपालिकाको मेयर निर्वाचित भएका — रमण थापा ।
२०२७ सालमा जन्मेका रमणको सानै देखि अन्याय अत्याचारविरुद्ध संघर्षरत स्पष्ट वक्ताको परिचय बन्यो । गाउँघरमा होस् वा विद्यालयमा उनी आफुलाई लागेको कुरा निर्धक्क राख्ने गर्दथे । स्वतन्त्रता रुचाउने र सहयोगी भावनाका रमणको बालमस्तिष्कमा पञ्चायती शासकहरुले जनतामाथि गरेको शोषण र दमनको अमिट छाप परेको रहेछ, उनी कसैको अह्राई सिकाई विना त्यसका विरुद्धमा उत्रिए ।
स्याङजाको चिन्नेबासस्थित जनप्रिय माविमा कक्षा ९ मा अध्ययनरत स्कुले बालक रमणले पञ्चायती शासन व्यवस्था ठिक छैन, प्रजातन्त्र ल्याउन आन्दोलनमा लागौं भनेर आफ्ना सहपाठी र अग्रज दाजुहरुलाई संगठित गर्दै थिए । एक कान दुइ कान गर्दा गर्दै उनको भूमिगत सक्रियताका बारेमा प्रहरीले थाहा पाउना साथ स्याङजाको जिल्ला कारागारमा एक जना बालविद्रोही थपिए — रमण थापा ।
१५ वर्षे बालविद्रोही रमणलाई कारागारको चिसो सिढीमा केहीदिन थुनेपछि प्रहरीको मनमा सायद आफ्नै छोराको याद आएर वा राजनीतिक दबाब परेर हुनसक्छ कुनै शर्त विना प्रहरीले रमणलाई कारागारमुक्त गरिदियो ।
जन्मजात लोकतान्त्रिक विचार धाराका रमण बैचारिक र राजनीतिक रुपमा सानै देखि जति सुस्पष्ट थिए, पढाईमा पनि उत्तिकै प्रखर थिए । विद्यालय तहमा उनी कहिल्यै दोस्रो हुनु परेन । वक्तृत्वकला प्रतियोगिता, बादविवाद प्रतियोगिता, हाजिर जवाफ प्रतियोगिता लगायतका अतिरिक्त कृयाकलापहरुमा सधै पुरस्कृत हुने रमण खेलकुँदमा झनै खरो खेलाडि थिए ।
शिक्षक सेवा आयोगको परिक्षामा स्याङजा जिल्लामै सबै भन्दा धेरै अंक ल्याएर एक नम्बरमा नाम निकाल्न सफल रमणले शिक्षण पेशा भने धेरै समय अँगाल्न सकेनन् । उनले झण्डै चार वर्ष सरकारी शिक्षकको रुपमा विद्या बाँडे पनि पेशाबाट सन्तुष्ट हुन भने सकेनन् ।
सरकारी शिक्षक हुँदा खुल्ला सामाजिक तथा राजनीतिक गतिविधि गर्न नपाएपछि पिँजडाको सुगा जस्तो अनुभूति गरेका रमण हुँदा खाँदाको आकर्षक सरकारी जागिर छाडेर सामाजिक सेवा तर्फ होमिए । त्यति बेला देखिको लगातारको सामाजिक सेवा र क्रियाशिलताकै प्रतिफलमा आज सबैको सहयोगी, सेवक र विकास अभियान्ता रमण भन्ने परिचय बनेको छ, उनको ।
उनी सामान्यतया जति सरल, दयालु र नरम देखिन्छन्, परेको बेलामा उत्तिकै कठोर र सहासी पनि छन् । उनको सहासको रामपुरमा बेलाबेलामा चर्चा भईरहन्छ । रामपुरको सृजनसिल युवा क्लवको अध्यक्ष भएको बेला २०५९ सालमा सामाजिक कामका लागि देउसीभैलो खेलेर संकलन गरेको रकम माओबादीले लुटेर लगेपछि उनले उनीहरुबाट त्यो रकम फिर्ता गराउन सफल भएका थिए ।
“बरु मेरो छातीमा गोली हान, तर म त्यो क्लवको रकम फिर्ता गराई छाड्छु” भन्ने अठोटका साथ उनले माओवादीले लुटेर लगेको रकम खोसेका थिए । माओवादीले जे गरेपनि डराई डराई सहनु पर्ने बेलामा पनि उनले माओवादीबाट भिडेर रकम खोसेर फिर्ता गराउन अकल्पनीय सहासिक काम गरेका थिए ।
हामीले गाँउघरमा देखेका नेताहरु सामान्यतया दुई थरीका हुन्छन् । ती मध्ये एक थरी जहिले पनि पद खोज्छन्, पद पाएपछि मात्रै काम गर्छु भन्छन् । तर पद पाएपछि पनि काम गर्न सक्दैनन वा गर्दैनन् । अर्थात पदलाई प्राथमिकता दिन्छन ।
तर अर्काथरी अगुवाहरु यस्ता हुन्छन् जस्लाई कहिल्यै पनि पद प्राथमिकतामा पर्दैन । उनीहरु आफ्नो अत्मसन्तुष्टी र मन शान्तिका लागि घर दैलोमै पुगेर सकेको जानेको सहयोग र सेवा गरिरहेका हुन्छन, त्यस्तै मध्येका हुन्, रमण । आफ्ना गाँउलेहरुलाई सहयोग गर्न उनले कहिलै पद खोजेनन्, कहिल्यै झन्झट र अल्छी मानेनन् । पुर्वी पाल्पाका अधिकांश सामाजिक संघसंस्था र बाटोघाटोमा उनको श्रम र पसिना परेको छ । हरेकका घरदैलोमा पुगेका छन्, हजुरवा हजुरआमा देखि नातीनातिना सम्मको सन्चोविसन्चो सोधीखोजी गर्छन् रमण थापा ।
बाटो घाटो, पुलपुलेसा, मठमन्दीर, खेलकुद, कलासंस्कृति, शिक्षा जुनसुकै क्षेत्रमा काम गर्न खोज्ने जुनसुकै उपभोक्ता समुह, आमा समुह, युवा क्लव, विद्यालय लगायतका जुनसुकै सामाजिक संस्थालाई उनको साथ रहन्छ । आफुसँग जे छ त्यही दिएर सहयोग गर्छन् । युवालाई भलिबल, विद्यार्थीलाई छात्रबृत्ति देखि बाटो बनाउन डोजर सम्म पठाईदिन्छन् उनीहरुलाई । उनले दलित तथा जनजातीका छोराछोरीलाई गाँउ गाँउमा गएर कितावकापी र छात्रबृत्ति मात्रै दिएका छैनन् केहीलाई त काठमाडौमा समेत पढ्ने व्यवस्था गरिदिएका छन् । कैयौ गरिव विरामीहरुलाई औषधी र अस्पतालको खर्च तिरिदिएका छन् । अपाङ्गता भएकाहरुकाहरुलाई सहयोग गरेका छन् ।
यसरी तन र मनले सहयोग र साथ दिएर उनीसँग प्रतिश्पर्धा गर्न सक्ने संभवत ः पुर्वी पाल्पामा कोही छैन् । परेको ठाँउमा धनले समेत सहयोग गर्न पछि परेका छैनन्, उनी । काँग्रेसको पछिल्लो अधिवेशनमा उनी सवै भन्दा धेरै मत ल्याएर महासमिति सदस्यमा निर्वाचित भएका छन् । काँग्रेस भित्र महासमिति सदस्यको निकै ठुलो भूमीका हुने भएकाले अधिकांश नेताहरु महासमिति सदस्य बन्न चाहन्छन् र प्रतिश्पर्धामा उत्रिन्छन्, त्यही प्रतिश्पर्धामा उनी सवैको रोजाईमा परेका नेता हुन् ।