पुर्नवासमा तनाव उस्तै, पुनः निर्वाचनको माग गर्दै ४ दलद्वारा बैठक वहिस्कार
मानव साङ्लो बनाएर प्रहरीले थुन्यो मूल सडक
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ असार १८ आइतबार
449
Shares
कञ्चनपुर । मतदान केन्द्रमा खसेको मत भन्दा गणनाको परिणाम बढी देखिए पछि कञ्चनपुरको पुनर्वासमा शनिबार भएको झडपबाट देखिएको तनाव फेरि पनि उस्तै छ ।
शनिबारको जस्तो झडप नहोस् भन्दै स्थानीय प्रशासनले कडा सुरक्षा घेरा निर्माण गरेको छ । मत गणना स्थल देखि सय मिटर वरिपरि मानव साङ्लो बनाएर पुनर्वास स्थित त्रिभुवनबस्तीको प्रतिभाबजारको मुलबाटोमा प्रवेश निषेध गराएको छ ।
प्रहरीले कडा सुरक्षाको प्रबन्ध जुटाए पनि मतगणनाको प्रक्रियामा असन्तुष्ट राजनीतिक दलका कार्यकर्ताहरुले ठाउँ–ठाउँमा प्रदर्शन गरि रहेका छन् । यस्तै, सहमतिका लागि आइतबार बसेको सर्वदलीय बैठक साना चार दलले वहिष्कार गरेका छन् । पुनः निर्वाचन हुनु पर्ने भन्दै राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनजागरण नेपाल पार्टीले बैठक वहिस्कार गरेका छन् ।
यद्यपि, ठूला तीन अबेरसम्म बैठक बसे पनि निश्कर्ष निकाल्न सकेनन् । पुनर्वासको १ नम्बर वडामा मतदान केन्द्रमा खसेको मत २६७९ भन्दा गणनाको क्रममा १०४ बढी देखिए पछि बढेको तनाव बाट झडपको स्थिति आएको थियो । भिड नियन्त्रणका लागि प्रहरीले गरेको अन्धाधुन्ध लाठीचार्जमा बाटोमा हिडिरहेका एक वृद्ध परे पछि प्रदर्शनकारीहरुले ढुंगा हान्न सुरु गरेका थिए ।
प्रदर्शनकारीको ढुंगा प्रहारबाट ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा कार्यरत सहायक प्रहरी निरीक्षक देबबहादुर थलाल, प्रहरी जवान केशवराज पन्त, म्यादी प्रहरी निशा पाण्डे र पुजा जोशी घाइते भएका थिए ।
शनिबार पुर्नवासस्थित मतगणनास्थल बाहिर भएको प्रदर्शन र झडपका क्रममा दर्जनौ प्रदर्शनकारी घाइते भएको प्रदर्शनमा उत्रिएका दलका नेताहरुले बताएका छन । सन्तुष्ट दलका नेताकार्यकर्ताको लगातारको प्रदर्शन र सुरक्षा निकाय कडा बन्दोबस्तीका कारण जनजीवन सामान्य हुन सकेको छैन ।