एमालेतिर सर्दै राजपा, पार्टी दर्ता प्रक्रिया अघि बढ्यो
नेताहरु भन्छन् -काँग्रेस नेतृत्वको सरकारसँग किन सम्बन्ध राख्ने ?
प्रकाशित २०७४ असार १९ सोमबार
375
Shares
काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले सरकारलाई दिएको समर्थन एक दुई दिनभित्रै फिर्ता लिने र एमालेसँग सम्बन्ध विस्तार गर्ने भन्दै प्याट्ट मुख फोडे ।
राजधानीमा आयोजित एक कार्यक्रमा नेता सुमनले एमाले लचक बन्दै गएका कारण राजपा र एमालेबीचको सम्बन्ध सुधारका लागि पहल भैरहेको बताए । नेता सुमनले भने, ‘एमाले अहिले सुध्रिएको छ, राजपा र एमालेवीच अब सम्बन्ध सुधारको लागि पहल भैरहेको छ ।’ उनले केही दिनमै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने पनि बताए ।
यद्यपि, नेता समुन भन्दा माथिको पार्टी पंक्तिले एमालेसँग सम्बन्ध बढाउने सन्दर्भमा कुनै गुन्जायस नभएको बताएको छ ।
अध्यक्ष मण्डलका एक सदस्य अनिल झाले सोमबार बसेको अध्यक्षमण्डलको बैठकमा पनि त्यस विषयमा कुनै कुरा नभएको बताए । उनले भने, ‘हाम्रो आन्तरिक छलफल जहिले भइरहेको छ । पत्रकारलाई भन्ने गरी कुनै छलफल वा बैठक भएको छैन ।’ यद्यपि, मनिष सुमनले बोलेका कुरासँग केही मेल खाने संकेत भने झाले गरे ।
उनले अगाडि भने, ‘एमालेसँग सम्बन्ध बढाउने भन्ने कुनै कुरा भएको छैन । काँग्रेस नेतृत्वको सरकारसँग किन सम्बन्ध राख्ने भन्ने प्रश्नको जवाफ खोजिँदै छ ।’ काँग्रेस सभापति शेरबहादुर देउवालाई हामीले मतदान गर्ने बाहेक केही प्रगति भएन । मतदान गर्न गएको जस्तो मात्रै भयो, उनले थपे, ‘पुष्प कमल दाहालका पालामा मधेसमा एउटा अस्पताल समेत दिइएन ।’ अनि सम्बन्ध राखिरहनु पर्छ भन्ने के छ ?
पार्टी दर्ताको विषयमा मात्रै प्रवेश गरेका छौँ महतो
राजपा अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले सोमबारबाटै अध्यक्ष मण्डलको बैठक सुरु भएको बताए । सोमबार निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने र त्यसको सम्पूर्ण प्रक्रियाका विषयमा छलफल भएको नेता महतोले जानकारी दिए ।
हाम्राकुरासँग उने भने, ‘सोमबार पार्टी दर्ताको विषय मात्रै प्रवेश भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने वा एमालेलाई सघाउने भन्ने कुरा भएकै छैन ।’ यद्यपि, महतोले घुमाउरो भाषामा वर्तमान सरकारसँगको सम्बन्धबारे हेरफेर हुनसक्ने संकेत गरे ।
उनले भने, ‘हामी पार्टी दर्ता गर्दै छौँ । सम्बन्ध बन्ने र बिग्रने भन्ने कुरा कामको आधारमा निर्धारण हुने हो । हामी हेरिरहेका छौँ । संविधान संशोधनमा कल्ले के भूमिका निर्वाह गर्छन् । कसको भूमिका कस्तो रहन्छ ?’ एमालेसँग सम्बन्ध बढाउने विषयमा तीन नेता एकातिर तीन नेता अर्कोतिर फर्किएको भन्ने सन्दर्भमा महतोले बाहिर त के–के हल्ला हुन्छ, हुन्छ भने । बैठक मंगलबार फेरि बस्ने नेता महतोले बताए ।
‘पार्टी दर्ता’ चुनावको तयारी हो ?
नेता महतोले एकीकरणपछि पार्टी दर्ता हुनै पर्ने भएकाले दर्ता गर्न लागेको बताए । चुनावी तयारी गर्ने भए पहिले नै दर्ता गर्न सक्थ्यौँ, उनले भने । अनि अहिले चैँ दर्ताका लागि तातिनुको कारण ? जवाफमा उनले भने, ‘झुण्डमा त बस्नु भएन नि ! पार्टी दर्ता अनिवार्य हो । चुनावकै लागि मात्रै गर्नु पर्छ भन्ने हुन्छ र ?’ संविधान संशोधन नभएसम्म आफुहरु चुनावमा नजाने महतोको भनाई छ । मधेस केन्द्रत ६ दल मिलेर बनेकाे राजपा निर्वाचन अायाेगमा दर्ता भएकाे छैन । राजपालाई दोस्रो चरणको चुनावमा सहभागि गराउन भन्दै एेन संशोधन गरे पनि राजपाले पार्टी दर्ता गरेन । जस कारण प्रदेश २ काे चुनाव असोज २ गतेलाई सारिएकाे छ ।