धनगढीबाट काठमाडौं आउँदै गरेको बस पल्टिँदा घाइते सातमध्ये तीन जनाको मृत्यु (अपडेट)
प्रकाशित २०७४ असार २० मंगलबार
619
Shares
चितवन। इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान अन्दाजी २ः२५ बजे यात्रुबाहक बस पल्टिँदा घाइते भएका सात जनामध्ये तीनजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ ।
उपचारका लागि गजुरी अस्पताल लैजाँदै गर्दा कैलाली घर भएका ३२ वर्षीय थारु र निजकी छोरीको बाटोमानै मृत्यु भएको र चालक रानामगरको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
तनहुँको आँबुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा पठाएका पाँचजना घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको थियो । तीमध्ये मृतक थारुकी श्रीमती गम्भीर घाइते रहेको थापाले बताउनुभयो ।
अन्य तीनजनाको अवस्था भने सामान्य रहेको छ । काठमाडौँबाट धनगढी जान तीव्रगतिमा आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएर नालातर्फ पल्टिएको थियो । बसमा सवार २७ जनामध्ये सकुशल रहेका २० जनालाई अन्य बसमा चढाएर गन्तव्यतर्फ पठाइएको थियो । रासस