सडक निर्माणले तीव्रता पाउँन थालेपछि गाउँलेमा खुशीको सीमा रहेन
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ असार २० मंगलबार
593
Shares
रुकुम । जिल्लाको सबै भन्दा पुरानो सडक आयोजना निर्माण कार्यले तिव्रता पाएपछि गाउँमा सडक पुग्ने भन्दै पूर्वी रुकुमका स्थानीयहरु खुशी भएका छन् । २०५० सालबाट सुरु भएको बालुवा–जामाबगर–त्रिवेणी’ सडक खण्डको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेपछि स्थानीयहरु खुशी भएका हुन् ।
तत्कालीन जिल्ला विकास समितिका उपसभापति केशरमान रोकाको पहलमा सुरु भएको सडक निर्माण कार्यमा धेरै निकायहरुले काम सुरु गरेपनि कठिन भुगोलका कारण निर्माण हुन सकेको थिएन् । भिरालो जमिन र कढा चट्टान भएपछि स्थानीयलाई आवतजावत गर्न समेत समस्या थियो ।
अहिले ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना आयोजनाको आर्थिक सहयोगमा जिल्ला प्राविधि कार्यालयले निर्माण कार्य सुरु गरेपछि स्थानीयहरु खुशी भएका छन् । एक वर्ष अघिबाट सुरु गरिएको सडक निर्माण कार्य अहिले पनि जारी छ । २० किलोमिटर लामो रहेको यस सडक खण्डमा अहिलेसम्म ८ किलोमिटर सडक निर्माण भईसकेको जिल्ला प्राविधि कार्यालयका इन्जिनियर पहल पुनले जानकारी दिए ।
अब यस खण्डमा १२ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको छ । रु ४० करोड रकम खर्च हुने अनुमाण गरीएको यस सडक खण्डमा अहिलेसम्म रु ९ करोड रकम खर्च भएको उनले बताए । सडक निर्माण भएपछि जिल्लाको पूर्वी क्षेत्रका दर्जन भन्दा बढि गाउँका स्थानीयलाई सहज हुने छ ।
भौगोलिक विकटताका कारण पहिले एक दिनको पैदन हिँड्नु पर्ने ठाउँमा अहिले सडक निर्माण भएपछि एक घण्टामा नै पुग्ने गरेको प्वाङ्गका स्थानीय जीवन पुनले बताए । “यहाँ पहिला निकै भिर थियो त्यही भएर बाटो पनि थिएन हामीहरुलाई हिडडुल गर्न पनि निकै कठिन हुनेगथ्र्याे – स्थानीय पुनले भने, अहिले त सडक निर्माण भएपछि निकै सहज भएको छ ।”
देश संघीय संरचनामा गएपछि अब सडक निर्माणको लागि बजेट कुन निकाय मार्फत आउने भन्नेमा भने अन्योलता छ । यस्ता ठुला क्रममागत योजनाहरु अब कतै रोकीन्छ कि भन्दै यस क्षेत्रका सर्वसाधरणमा केहि चिन्ता पनि सुरु भएको छ । “जिल्ला प्राविधि कार्यालय अब रहँदैन भन्छै स्थानीय– रमेश केसीले भने, हाम्रो गाउँमा पुग्ने यो सडक निर्माण फेरि रोकिन्छकी भन्ने चिन्ता लागेको छ ।”
सडक निर्माण कार्य अब नरोकिने जुन निकायबाट भएपनि बजेट आउने इन्जिनियर पुनले बताए । बजेट रोकीएर सडक निर्माण कार्य नरोकीने उनले विश्वास व्यक्त गरे ।