राजपालाई पार्टी दर्ताको चटारो, नेताहरु रातभर सुत्दैनन्
प्रकाशित २०७४ असार २० मंगलबार
192
Shares
काठमाडौं । स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरण वहिष्कार गरेको राष्ट्रिय जनता पार्टी राजपा नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि जोडतोडले काम अघि बढाएको छ ।
राजपा अध्यक्षमण्डलको सोमबारदेखि सुरु भएको बैठकमा पार्टी दर्ताको विषयमा निरन्तर छलफल भइरहेको छ । मंगलबार बसेको बैठक समेत अन्य विषयमा प्रवेश गर्न सकेन । दल दर्ताकै विभिन्न विषयमा छलफल भएको अध्यक्षमण्डलका सदस्य अनिल झाले बताए ।
नेताहरुले विधानको मस्यौदा गर्ने काम राति नसुतेर गरिरहेका छन् । झाले भने, ‘रातभर बसेर काम गर्नु पर्नेछ । हामी सबै मिलेर काम गरिरहेका छौँ ।’ उनले मंगलबारको बैठकमा पार्टी दर्ता बाहेक अन्य विषयमा छलफल हुन नसकेको बताए ।
दल दर्ताका लागि आवश्यक विधानलगायत दस्तावेजलाई अन्तिम रूप दिन छलफल जारी छ । पार्टीको संगठन संरचना र जातीय प्रतिनिधित्वको विषयमा झगडा भएपछि तत्काललाई अन्तरिम विधान बनाएर समस्या सल्टाउने बताइएकामा पनि नेता झाले तत्काल भन्दा पनि सधै भरीलाई हुने गरी काम भइरहेको सुनाए ।
पार्टीको पूर्ण विधान महाधिवेशनबाट अनुमोदन हुने भन्दै अहिलेलाई अन्तरिम विधान निर्वाचन आयोगमा पठाउने तयारी भइरहेको बताइँदै छ ।
दल निर्माण भएपछि दर्ता गर्ने औपचारिकताका लागि निर्वाचन आयोग जान लागेको बताउँदै राजपा नेताहरुले पार्टी गठन भएको वक्तव्य र चिठी आयोगलाई दिइसकेको बताए । आयोगले राजपालाई चुनावमा सहभागि गराउन भन्दै ऐन संशोधन गरेपनि राजपा चुनावमा जान मानेन । राजपा सहभागि नभएपछि प्रदेश २ को चुनाव असोज २ गतेलाई सारिएको छ ।