ललितपुर महानगरपालिकाको बोर्ड बैठक : के-के भए निर्णय ?
प्रकाशित २०७४ असार २१ बुधबार
635
Shares
काठमाडौं । ललितपुर महानगरपालिकाको बोर्ड बैठक सम्पन्न भएको छ । बुधबार महानगरपालिकाको कार्यालयमा बसेको बैठकले विभिन्न बुँदाहरुमा निर्णय गरेको छ ।
बोर्ड बैठकले महानगरपालिकाको ग्रामीण क्षेत्रमा लालपूर्जा नै नभई घर बनाएका कतिपय घरधनीहरुको पहिचान गरी त्यस्तो समस्याको समाधान गर्नको लागि एउटा समिति गठन गर्ने निर्णय गरेको छ । सोको लागि २७ नं वडाका वडाध्यक्ष बाबुराजा महर्जनको संयोजकत्वमा एउनक्सा व्यवस्थापन सम्बन्धि एक समिति गठन गरिने र त्यस समितिले एक महिना भित्र आफ्नो प्रतिव्दन बुझाउन पर्ने व्यवस्था गरिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । उनका अनुसार त्यही समितिको प्रतिव्दनको आधारमा समस्या समाधानतर्फ आवश्यक कदम चालिने भएको छ ।
त्यस्तै, महानगर कार्यपालिकाका सदस्यहरुको श्रीमती र आफन्तहरुको निधन भएको खण्डमा उनीहरुको १३ औं दिनको पुण्य तिथीमा महानगरपालिकाको तर्फबाट श्रद्धाञ्जलि सन्देश राष्ट्रिय दैनिक पत्रिकामा छपाउने निर्णय पनि बोर्ड बैठकले गरेको छ ।
बैठकमा महानगरको कार्य योजना विधेयक र कार्य दिग्दर्शन विधेयकको सम्बन्धमा पनि छलफल चल्यो । सो सम्बन्धमा एउटा स्पष्ट मार्गचित्र तयार पारेर अघि बढ्ने सहमति पनि जुटेको छ । त्यस्तै, राजश्व अनुगमन समिति गठन गर्ने र विकास बजेटको सम्बन्धमा अर्काे समिति गठन गर्ने निर्णय भएको महर्जनले जानकारी दिए ।