पार्टीको प्रस्तावनामा गजेन्द्रनारायण सिंहको नाम राख्ने विषयमा विवाद
प्रकाशित २०७४ असार २१ बुधबार
412
Shares
काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाको वुधबार निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयास विफल भएको छ ।दल दर्ताका लागि आयोग जाने तयारीमा रहेका राजपा नेताहरु अन्ततः रोकिन पुगे ।
कारण पार्टीको विधानमा मतैक्य हुन सकेन । सोमबारबाट सुरु भएको छलफल वुधबार पनि जारी रहयो । यद्यपि, विधान र घोषणापत्रमा सर्वसहमति हुन सकेन, राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘विधान र घोषणपत्रको छलफल टुंगिएन । त्यसैले रोकियो । टुंगिने वित्तिकै दर्ताका लागि आयोग जान्छौँ ।’
छलफलका क्रममा नेताहरुबीच विवाद भएपछि आयोग जाने प्रयास विफल भएको भन्ने सोझै नस्वीकारे पनि नेता महतोले घुमाउरो भाषामा छलफलका क्रममा विभन्न विचार आउनु स्वभाविक हो, भने ।
६ मधेसवादी घटकको एकीकरणपछि बनेको राजपाको विधान लगभग टुंगिए पनि घोषणापत्र टुंगो लाग्न सकेको छैन ।
सोमबारदेखि सुरु दस्तावेजलाई अन्तिम टुंगो लगाउने बैठक राति एघार बजेसम्म चले पनि निष्कर्ष आएन । बुधबार बिहान ११ बजे बैठक डाकिएकामा अध्यक्षमण्डका सदस्यबीच मतैक्य नहुँदा छलफल अझ लम्बिएको हो । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र नेता अनिल झा ढिलोगरी पार्टी मुख्यालय छिरे ।
पार्टी एकता गरेको औपचारिक जानकारी आयोगलाई पठाउने दस्तावेजमा शरतसिंह भण्डारी र महेन्द्र यादवले मंगलबार राति नै हस्ताक्षर गरेका थिए । अन्य अध्यक्षले बुधबार हस्ताक्षर गरे पनि अनिल झाले नमानेको बताइएको छ ।
झाले पार्टीको प्रस्तावनामा सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंहको नाम राख्नुपर्ने अडान राखेका छन् । यद्यपि, उनले भने, ‘मैले अडान राखिरहनु पर्ने के छ र ? प्रस्तावनामा गजेन्द्रनारायण सिंहको नाम राख्ने भनेर कार्यदलले नै लेखि पठाएको छ । नेपाल सद्भावना पार्टीको संस्थापक भएका नाताले सद्भावना पार्टीका जहाँ नाम आउँछ त्यहाँ उहाँको नाम आउँछ नै । गजेन्द्रनारायण सिंह र रामजनम तिवारी रहिरहनु हुन्छ । म उहाँहरुको उत्तराधिकारी हुँ भनेर भनेको पनि छैन । भनिरहनु पर्दैन ।’ मैले मात्रै अडान राख्नु पर्दैन । अरुले नै राख्छन् ।
संयोजक महन्थ ठाकुरले पार्टीभित्र आन्तरिक असन्तुष्टि रहेको खुलाउँदै प्राविधिक समस्या सल्टाउने वित्तिकै दल दर्ता हुने जानकारी दिए । पार्टी स्थापनाको साढे दुई महिनापछि राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरे पनि नेताहरुले यथास्थितिमा चुनावमा भाग नलिने अडान कायमै राखेको छ । ६ दलबीच वैशाख ७ गते पार्टी एकता भएको हो ।