बैदेशिक रोजगारीमा गएकाहरुले आफ्नो गाउँमा पुर्याए एम्बुलेन्स
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ असार २२ बिहिबार
615
Shares
स्याङ्जा । बैदेशिक रोजगारीमा गएका युवाहरुले चापाकोट नगरपालिका र हरिनास गाँउपालिकालाई एम्वुलेन्स उपलव्ध गराउने भएका छन् । स्याङ्जाबाट बैदेशिक रोजगारीमा गएका युवाहरुले स्याङ्जा सहयोग समाज कुवेतले नगरपालिका र गाउँपालिकालाई एम्वुलेन्स दिने भएका हुन् । जिल्ला सदरमुकामबाट निकै टाढा रहेका नगरपालिका र गाउँपालिकालाई बैदेशिक रोजगारीमा गएका युवाहरुको विदेशमा बसेको भेलाले एम्वुलेनस उपलव्ध गराउने निर्णय गरेको स्याङ्जा सहयोग समाज कुवेतका अध्यक्ष शिव कोइरालाले बताए ।
ग्रामीण क्षेत्रका नागरिकलाई सहज रुपले उपचारमा सहयोग हुने अपेक्षा गरेर केही महिना भित्र एम्वुलेन्स दिने निर्णय गरेका छौं अध्यक्ष कोइरालाले भने,“स्वास्थ्यको पहुँचबाट निकै पछाडी परेका ग्रामिण बस्तीका नागरिकलाई एम्वुलेन्स मार्फत उपचारमा सहजता मिल्ने छ।” समयमै सवारी साधन नपाउदा धेरै नागरिकले अनाहकमा ज्यान गुमाउदाको पिडा सम्झेर सबै साथीभाई मिलेर एम्वुलेन्स उपलव्ध गराउने निर्णय गरेका हौं कोइरालाले भने ।
एम्वुलेन्स उपलव्ध भएपछि हरीनास गाँउपालिकाका साविकका गाविस चित्रे, मग्याम चिसापानी, क्याक्मी, ओरष्टे, चिन्नेवास लगायतका वासिन्दालाई उपचारका लागि लैजान टेवा मिल्ने छ । स्वास्थ्यको क्षेत्रबाट पछाडी परेका वासीन्दालाई बैदेशिक रोजगारीमा गएका युवाहरुले एम्वुलेन्स दिने निर्णय सुने लगत्तै गाँउलेहरु खुशी भएको ज्याग्दीका युवा विश्वास पुरीले बताए ।
बैदेशिक रोजगारीमा रहेका सबै स्याङ्जावासी युवाहरु सगँ सहयोगी हातहरु फैलाउन समेत समाजले आग्रह गरेको समाजका महासचिव श्रवण गाहाले बताए । समाजको सेवा नेपालमा बसेर मात्रै हुने होइन भन्दै विदेशमा बसेर पनि युवाहरुले उदाहरणीय काम गर्छन भन्ने पाठ एम्वुलेन्स उपलव्ध गराएपछि सिक्ने युवाहरुको भनाई छ । दुवै स्थानीय तहलाई अवको दुई महिना भित्र एम्वुलेन्स उपलव्ध गराउने समाजले जनाएको छ । स्याङ्जा सहयोग समाज कुवेतले बेला बेलामा विकास निर्माण, शिक्षा, खानेपानी लगायतका क्षेत्रहरुमा पनि आर्थिक सहयोग गर्दै आएका छन् ।