कोटेश्वरका सबै प्रहरी सरुवा गरेपछि एम्बुलेन्सले समेत पाएनन् बाटो
प्रकाशित २०७४ असार २२ बिहिबार
461
Shares
भक्तपुर। महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुखदेखि भान्छे समेत एकै पटक सरुवा भएपछि काटेश्वरदेखि भक्तपुरसम्मको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार कोटेश्वर ट्राफिक कार्यालयका ट्राफिक प्रहरी निरीक्षकको नेतृत्वमा रहेका ४४ जनालाई एकै पटक सरुवा गरेपछि बिहिबार बिहानैदेखि यहाँको ट्राफिक व्यवस्थापन बिग्रेको छ । केही महिनायता कोटेश्वर–भक्तपुर सडकमा बढ्दो सडक चाप, जथाभाबी पार्किङलगायत समस्यालाई प्रभावकारीरुपमा समाधान गर्न नसकेको भन्दै महाशाखाले यहाँ कार्यरत सबै ट्राफिक प्रहरीलाई सरुवा गरेको हो ।
महाशाखा प्रमुख मिङ्मार लामाले प्रभावकारी काम गर्न नसकेकाले कोटेश्वर ट्राफिक प्रहरी प्रभागका सबैलाई सरुवा गरिएको बताए । उनले बाहिरबाट आउने लामो दूरीका यातायातका साधनलाई बसपार्कबाट सञ्चालन गरिने बताउँदै पूर्वबाट आउने लामो दूरीका सवारी साधनका लागि भक्तपुरमा छुट्टै बसपार्क नबनाएसम्म सो समस्या हल गर्न कठिनाइ हुने स्पष्ट गरे।
नयाँ ट्राफिक प्रहरी टोली कोटेश्वरमा आएपछि यहाँको चाप झन् बढेको छ । बिहिबार बिहानैदेखि दिनभरि नै थिमि चारदोबाटोसम्म भक्तपुरबाट काठमाडौँतर्फ जाने लेन चापमा परेको थियो । सडक चापमा परेपछि बिरामी बोकेर काठमाडौंका अस्पतालतर्फ जाँदै गरेका एम्बुलेन्ससमेत ठिमीदेखि कोटेश्वरसम्म जाममा परेका थिए । रासस