आइतबारदेखि नारायणगढ– मुग्लिन सडक १० घन्टा बन्द, रातमा नचल्ने
प्रकाशित २०७४ असार २३ शुक्रबार
574
Shares
चितवन । पहिरोलगायत कारण असुरक्षित भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड यही असार २५ गतेदेखि राति १० घण्टा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकले यातायात सञ्चालनमा रोक लगाएको हो ।
प्रजिअ नारायणप्रसाद भट्टले बैठकले मुग्लिनतर्फबाट साँझ ७ बजे र नारायणगढतर्फबाट ६ बजेदेखि यातायात रोक्ने निर्णय गरेको जानकारी दिए ।
यसैगरी बिहान मुग्लिनबाट ५ बजे र नारायणगढ तर्फबाट ४ बजे यातायात खुला गरिनेछ ।
यसअघि व्यवस्थापिका–संसद्, विकास समितिले यही असार ११ गते उक्त सडक खण्डको अनुगमन गरेको थियो ।
समितिले गृह, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलगायत सरोकार भएका मन्त्रालयलाई उक्त सडकखण्डका बारेमा एघारबुँदे विशेष ध्यानाकर्षण र निर्देशन गरेको थियो ।
उक्त निर्देशनपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय कार्यान्वयन गराउन सुरु गरेको हो ।
विस्तार भइरहेको उक्त सडकखण्डमा राति सम्भव भएका निर्माणका कार्य गर्ने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी सडक विस्तारका क्रममा परेका बिजुलीका खम्बा र खानेपानीको पाइप सार्ने र रुख काट्ने कामलाई यथाशक्य छिटो सम्पन्न गरी कामलाई सहजीकरण गरिने प्रजिअ भट्टले बताए ।
उक्त सडकखण्डमा तीन र्यापिड रिस्पोन्स टिम (आरआरटी) को व्यवस्था गरिसकिएको प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।
उक्त सडकखण्डमा रहेका ४४ जोखिमपूर्ण घरलाई अस्थायी रुपमा भए पनि तत्काल स्थानान्तरण प्रक्रिया सुरु गरिने भएको छ । उक्त कामको जिम्मेवारी सम्बन्धित स्थानका जनप्रतिनिधिलाई दिइएको छ ।
यता निर्माण कम्पनीहरुले भने राति काम गर्न नसकिने जनाएका छन् ।
उनीहरुले काम गर्ने मजदुर कर्मचारीको सुरक्षा खतरा रहेकाले काम गर्न असहज हुने बताए । रासस