arrow

एमालेका ५ जिल्ला अध्यक्ष : जो स्थानीय चुनावमा पराजीत भए

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
cpnuml.jpeg

काठमाडौं । नेकपा एमालेका विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरुले स्थानीय तहको निर्वाचनलाई निकै महत्वका साथ हेरेर निर्वाचनमा सहभागी भएको भएपनि सबैले यो स्थानीय तहको निर्वाचनमा सफलता हाँसिल गर्न सकेनन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानीय तहमा एमालेका जिल्ला अध्यक्षहरुले नै उम्मेदवारी दिएका थिए । कूल १० वटा जिल्लाका अध्यक्षहरुले स्थानीय तहमा उम्मेदवारी दिएकोमा ५ वटा स्थानीय तहका उम्मेदवारहरुले मात्रै चुनाव जितेका छन् भने ५ वटा पराजीत भएका छन् । 

नेकपा एमालेका मोरङका जिल्ला अध्यक्ष विनोद ढकाल नेकपा एमालेको तर्फबाट विराटनगर महानगरपालिकामा मेयरका उम्मेदवार बनेका थिए । उनी अहिले काँग्रेसका उम्मेदवारसँग भारी मतान्तरले पछाडि छन् घोषणा नगरिसकेको भएपनि एमालेहरुले नै विराटनगरमा अहिले हार स्वीकार गरिसकेको छ । दुई पटकसम्म जिल्ला अध्यक्ष बनेका ढकालको फोरम लोकतान्त्रिकसँग गठबन्धन थियो । 

त्यस्तै, नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक  बुद्धशान्ति गाउँपालिकाको प्रमुखमा उठेका थिए । उनी त्यहाँ नेपाली काँग्रेसका उम्मेदवारसँग पराजीत भएका छन् । नेपाली काँग्रेसका रमेश भुजेल पाठकलाई ६४३ मतले पछाडि पार्दै गाउँपालिका अध्यक्ष बनेका हुन् । भुजेलले ७ हजार ९ सय ९६ मत ल्याउँदा पाठकले ७ हजार ३ सय ५३ मत मात्रै ल्याए । 

त्यस्तै, पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले भने फिदिम नगरपालिकामा आफ्नो शाख जोगाउन सकेनन् । उनी नेपाली काँग्रेसका ओनाहाङ नेम्वाङसँग पराजीत भए । बर्दियाका अध्यक्ष हरिप्रसाद ज्ञवालीले गुलरिया नगरपालिकामा र प्युठानका अध्यक्ष तुलसीराम शर्माले प्युठान नगरपालिकामा पनि आफ्नो शाख जोगाउन सकेनन् । उनीहरु क्रमशस्  नेपाली काँग्रेसका मुक्तिनाथ यादव र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुबाट पराजीत भएका हुन् । 

नेकपा एमालेले दिएको जानकारी अनुसार निर्वाचन हुँदै गरेका ३५ जिल्लामध्ये १० वटा जिल्लाका जिल्ला अध्यक्षहरुले विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका थिए । यसरी उम्मेदवारी दिइएका जिल्लाहरूमा भोजपुर, पाँचथर, झापा, मोरङ, सुनसरी, ओखलढुंगा, गुल्मी, बर्दिया, प्युठान र रूपन्देही रहेको एमालेले जनाएको छ । 

इटहरी उपमहानगरपालिकाको प्रमुखमा सुनसरीका जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीले उम्मेदवारी दिए थिए । उनी विजयी बनेका छन् । उनले नेपाली काँग्रेसका रोहित प्रसाईलाई पराजीत गराएका हुन् । उनले २२ हजार ४ सय १२ मत ल्याए । त्यस्तै, ओखलढुंगाका अध्यक्ष मोहन श्रेष्ठ सिद्धिचरण नगरपालिकाको प्रमुख बने । उनले नेपाली काँग्रेसका डिल्लीराम खनाललाई पराजीत गराएका हुन् । त्यस्तै, भोजपुरका जिल्ला अध्यक्ष प्रेमकुमार राई हतुवागढी गाउँपालिकाको अध्यक्ष बने । उनले काँग्रेसका मदन खुलाललाई पराजीत गराएका हुन्। यस बाहेक पनि गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थले छत्रकोट नगरपालिकाको प्रमुखमा र रूपन्देहीका अध्यक्ष शिवराज सुवेदीले बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा विजयी बनेर आफ्नो शाख जोगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ