arrow

किशोरीहरु तातिएपछि भत्कियो छाउपडी गोठ, रोकियो सदियौंको कुप्रथा

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ असार २३ शुक्रबार
bajhang_news.jpg

बझाङ । 'गाउँभरी छाँउ गोठहरु थिए । धुँवा र पानीले टम्म भएका स-साना घर जहाँ महिनाबारी भएका बेला गाउँका महिला तथा किशोरी गाँउमा रहेका चार पाँच वटा छाउगोठ (छाउ कुल्ला)हरुमा दैनिक सात आठ जना महिलाहरु बस्ने गर्दथे । परम्परागत रुपमा बनेका छाउँ गोठहरु जहाँ ओड्ने बिच्छ्याउने गतिलो लुगा हुन्थेन र बत्ति समेत नहुने ती गोठहरुमा अध्यारो नै भए पनि बस्नु पर्दथ्यो । छाउकुल्लाहरुमा जहाँ महिनाबारी हुँदा हामीहरुले एक हप्ता कठिन र जोखिमपूर्ण तरिकाले बस्नु पर्थ्यो ।' रुपान्तरण कक्षा लिन आएकी एक खप्तड छान्ना गाउँपालिका वडा नम्बर ३ कि किशोरी प्रमिशा रोकायाको भनाई हो यो । 

सामाजिक कुरीतिका रुपमा रहेको छाउपडी प्रथाकै कारण अनाहकमा वर्षेनी स्वास्थ्य चौकी धाउने महिलाहरुलाई स्मरण गर्दै उनले भनिन् ‘चार वर्ष अगाडिको साउन महिनाको कुरो हो । गाउँको एक मात्र छाउकुल्लामा गाउँकै महिनाबारी भएका महिलाहरुको चाप बढी भएपछि महिनावारी भएकी आफ्नी आमाले मुसलधारे वर्षामा पाल ओडेर खुल्ला आकाशमुनी सुतेर लगातार पाँच दिन बिताएर बिरामी भएर अस्पताल जानु परेको सत्य कथा सुनाईन् । 

प्रमिशा मात्र होईन गाउँका वयस्क महिलाको पीडा उनले सुनाएको कथा भन्दा कम्ति थिएन् । खप्तड छान्ना गाउँपालिका ३ सुनारगाउँकी टिम्मुरी सुनारको कथा पनि उस्तैछ । ‘उहिलेको जमाना फरक थियो महिनाबारी भएका बेला घर भित्र त परै जावस् घरको आगनमा समेत पाईला टेक्न मिल्दैन थियो ।’ महिनाबारी भएका बेलामा नसुतेर बसेका कैयाँै दिनको स्मरण गर्दै उनले भनिन ‘उहिलेका ती कष्टकर दिनका कारण अहिले शरीर पुरा दुखिरहने, आँखाबाट पानी बगिरहने समस्या देखिएको छ ।’ 

सामाजिक कुरीतिका रुपमा रहेको छाउपडी, बालविवाह, बहुविवाह प्रथा लगायतलाई अन्त्य गर्न अहिले गाउँका किशोरीहरुले किशोरी सञ्जाल बनाई गाउँ जागरण अभियान थालनी गरेपछि यस कार्यको गाउँमा नै प्रशंसा हुन थालेको छ । किशोरीहरुको अगुवाईमा महिला, यूवा, स्थानीय नेताहरुको सक्रियतामा गाँउमा भएका सबै छाउ गोठहरु भत्काएपछि 
महिलाहरुको महिनाबारी भएको बेलाको सात दिने कठिन तथा जोखिमपूर्ण बसाईको अन्त्य भएको छ । 

स्थानीय किशोरी सञ्जालकी अध्यक्ष शिल्पा सुनारले भनिन् ‘दुई वर्ष अगाडि सबै छाउगोठहरु भत्काएर छाउगोठ मुक्त गाबिस बनाएका थियौं । तर त्यसको बिरोध गदै पुनः एक दुई छाउ गोठ बनाईए । आफूहरुले बारम्बार सुझाव सल्लाह दिँदै धेरै पटक गाली खाएको घटना समेत सुनाईन् सुनारले । ‘बनाएका छाउकुल्लाहरु त सबै भत्काएर सबै महिलाहरुको साथमा आफनै घर भित्र बस्ने वातावरण श्रृजना भएको छ ।’ उनले भनिन ‘जब हामीले टोल टोलमा किशोरी समूह बनायौँ, सबै किशोरीहरुलाई रुपान्तरण कक्षा मार्फत सिकायौ बुझायौ र गाँउ गाँउमा सडक नाटक, र्याली जुलुस निकाल्यौँ र निरन्तर यसैका लागि लडिरह्यौ । हाम्रो अभियानलाई सबैले साथ दिन थालेका छन्’ ।  

किशोरीहरुको एकता र गाउँ जागरण अभियानबाट प्रभावित भएपछि युएनएफपिए र महिला विकासले पनि रुपान्तरण कक्षामा सहयोग गरिरहेको उनले बताईन् । यसरी किशोरीहरुले छाउपडी प्रथामा मात्र नभएर बालविवाह र बहुविवाहको अन्त्यका लागिसमेत जागरण अभियान थालेका छन् । मासिक रुपमा नियमित बैठक बसी कार्ययोजना समेत बनाएर काम गरिरहेको समुहकी सदस्य बबिता रोकायाले बताईन । 

उनले भनिन ‘बीस वर्ष नपुगी विवाह नगर्ने भन्ने सबै किशोरीहरुले कसम खाएका छन् ।’ गाउँका उमेर नपुगी विवाह गर्न लागेका थुप्रै किशोरीहरुको बिबाह समेत रोकेको उनीहरुको भनाई छ । बाल बिबाह र बहु बिबाहका कारण हुने समस्याका बारेमा बिज्ञ समेत रहेकी किशोरी हरुले अहिले आफ्नो मासिक बैठक र कार्ययोजना अनुसार सामाजिक जागरण अभियानका क्रियाकलापहरु गर्दै आएकी छन् । यसका अलवा उनीहरुले बित्तिय तथा सामाजिक सीपमुलक कक्षाहरुमा नियमित रुपमा ब्यापक छलफल तथा अन्तरक्रिया गर्दै आएकी छिन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ