काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुको व्यवस्थापन गर्नु पर्ने, बौद्धिक शोषण अन्त्य हुनुपर्ने लगायत माग राखेर आन्दोलन गरिरहेका आंशिक प्राध्यापकले रत्नपार्कदेखि माइतीघर मण्डलासम्म प्रभातफेरी तथा कोणसभा गरेका छन् ।
माइतीघर मण्डलामा भएको कोणसभामा नेपाल राष्ट्रिय प्राध्यापक संघ, नेपाल प्रगतिशिल प्राध्यापक संघ, नेपाल प्रध्यापक संघ लगायत प्राध्यापन सम्बन्धी संघसंस्थाले आंशिक प्राध्यापकहरुको माग प्रति ऐक्यबद्धता जनाए । आंशिक प्राध्यापक संघले भोलि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई कार्यकक्षमा रोक लगाउने र विश्वविद्यालय अनुदान आयोगमा १० बजेदेखि धर्ना दिने कार्यक्रम रहेको नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष शशिकुमार शर्माले जानकारी दिए ।
संघले शुक्रबार त्रिवि केन्द्रिय कार्यालयमा पदाधिकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएको थियो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसमा गरी झण्डै ११ सय आंशिक प्राध्यापक कार्यरत छन् ।