पार्टी सभापति देउवा र नेता केसीलाई यसरी गरिँदैछ बदनाम
सञ्जिव तारुके।
प्रकाशित २०७४ असार २५ आइतबार
199
Shares
नुवाकोट । लोकतन्त्र अभिशाप हुने मूख्य कारण सञ्चार क्षेत्रलाई जसोतसो प्रलोभन र प्रभावमा पारेर आफूभन्दा असहमत हुनेहरूको चरित्रहत्या गर्नु गराउनु हो । यसपालीको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस जनाधार गुमाएर दोस्रो स्थितिमा पुगेको होइन ।
नेपाली काँग्रेसको जनाधारलाई साँच्चै सदुपयोग गर्ने हो भने अहिले पनि पार्टी पहिलो स्थानमै हुन्छ । विरोधी पार्टीले काँग्रेसलाई बिगार्न सक्दैनन् । तर काँग्रेसभित्र पन्पिएको यदुवंशी चरित्र र विवेकको कमिले गर्दा यो पार्टीलाई ओरालो लाग्ने रोगबाट परमेश्वरले पनि बचाउन सक्दैनन् । मतदानमा अन्तरघात र अघिपछि एउटाले अर्काको चरित्र हत्या गर्ने दोषबाट कुनै काँग्रेसी नेता पनि जोगिन सक्दैनन् । यसपालीको निर्वाचनमा पनि काँग्रेसलाई नेता र नेता वरिपरिका आसेपासे र ‘गाँसे’को दशा लागेको हो ।
अहिले काँग्रेस ‘बिग्रे दोषादोष सप्रे खोसाखोस’को नियति भोगिरहेको छ । आजसम्म जिल्लामा चुनाबै नलडेका र जनताको मत नपाई तालुमा आलू फलाउँदै आएका केही भुईँफुट्टा र लफङ्गाहरू पार्टीका सुविधाभोगमा अग्रणी छन् । देउबाको काखमा बसेर अरुको चरित्र हत्या गर्ने बाँदरलाई प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउबाले ‘नोकर’राख्दा मर्कट सेवकले आफ्नै नाक काटिदिने पञ्चतन्त्रको कथाको नियति देउबाको नेतृत्वकारी जीवनमा नदोहोरियोस भन्ने हाम्रो चाहना हो ।
नेता विशेषको वरिपरि बसेर अरुको चरित्र हत्या गर्नेहरूको चरित्रबाट स्वयं देउबा बच्न सक्नुभएन भने पार्टिको निमित्त ठूलो क्षति हुनसक्छ । उहाँलाई सार्वजनिक रुपमा जोकर र आउटडेटेड बनाउने, भित्री रुपमा सानो घेरामा राख्ने, अल्पबुद्धिको शिकार बनाउने, गलत सूचना दिने, आफ्नो स्वार्थ अनुकूलका निर्णय गराउन लागिपर्ने चरित्रबाट प्रधानमन्त्रि देउबा बच्न सक्नुपर्छ उहाँ आफ्नो घेरा भन्दा माथि उठ्नु अनिवार्य आवश्यकता छ ।
पछिल्लो समयमा यस्तै तत्वबाट गरिएको मिडियाबाजी र चरित्रहत्याको शिकार हुनुभएको छ नेपाली काँग्रेसका नेता अर्जुननरसिंह के.सी. । नुवाकोटका गाउँपालिका र नगरपालिकाको निर्वाचनमा उम्मेद्वारीको टिकट चोरेको दोष लगाउँदै कुनै अमुक सञ्चारसंस्थालाई चारो छरिदिएर तथाकथित भ्रमात्मक ‘समाचार’ लेखाउने अरू कोही होइन,यिनै व्यक्ति र यिनका केही आसेपासे हुन् । आफु सत्तामा रहदा कमाएको कालो सम्पत्ति उनि यसैमा प्रयोग गर्दैछन् । अघिल्लो दिन दिइएको टिकट दर्खास्त दिने ४ बजे परिवर्तन गरिएको छ। मनपरिसंग टिकट पठाउने र हारको कारण अर्कालाई थुपार्न खोज्ने को व्यक्ति हो भन्ने नुवाकोटकै जनतासंग बुझे हुन्छ । अनावश्यक रुपबाट प्रकाशमान सिंहजीको नाम लिएको छ । उहाँसगै सोध्दा सबै स्पष्ट हुन्छ नै । पार्टि सभापतिको मुखबाट अशिष्ट शब्द उच्चारण भएको उल्लेख गरेर उहाँको अपमान गरिएको छ । समाचार लेखिदिनेले, “यो घटनाले नुवाकोटमा के.सी. पक्षधर कमजोर हुँदै महत पक्षधर हावी हुँदै गएको देखिन्छ” भनी लेखिदिएर उक्त ‘समाचार’ को प्रायोजक को हो भनी सजिलो बनाइदिएको छ ।
नुवाकोटका गाउँपालिकाहरूसहित नगरपालिकाको उम्मेद्वारीको टिकट सल्लाहबाटै दिएको थियो । दुई नम्बर र तीन नम्बर क्षेत्रको टिकट १,२, ३ का निर्वाचित संसदहरुनै बसेर दिइएको हो । एक नम्बर क्षेत्रको पार्टिको निर्देशन अनुसारको संयन्त्र कहिले बसेन । अन्तिम दिन अठार गते बिहान पाँच बजेसम्म सल्लाह गर्ने कोशिस गर्दा पनि क्षेत्रिय सभापति उपस्थित भएनन् । क्षेत्रिय सभापति स्वयम् टिकट लिएर गायब भए । दुई नम्बर र तीन नम्बरको टिकट त्यहाँका माननियहरुकै रोहबरमा जिम्मा लगाइयो । सो कुरा सम्बन्धित क्षेत्रका माननियसंग सोध्दा प्रष्ट हुन्छ ।
एक नम्बर क्षेत्रको क्षेत्रिय सचिव, कोषाध्यक्ष, पराजित क्षेत्रिय अध्यक्षको उम्मेद्धार, त्यस क्षेत्रका माननिय र पार्टि जिल्ला सभापति, जिल्ला कोषाध्यक्ष समेत बसेर बारम्बार क्षेत्रिय अध्यक्षलाई फोन गर्दा पनि आएनन् । जे जति टिकट दिएको हो यि सबैको रोहबरमा क्षेत्रिय सचिवलेनै सहि गराएर वितरण गरेका हुन् । एक नम्बर क्षेत्रको संयत्र वैठक बसेको भए माइनुट बुक र त्यसमा त्यस क्षेत्रको माननिय र जिल्ला सभापतिको उपस्थिति वा हस्ताक्षर देखाउन पनि के.सी. पक्षले चुनौति दिएको छ ।
यसका बारेमा पार्टीले निष्पक्ष समिती नै गठन गरेर सत्य र यथार्थता जनसमक्ष ल्याउनु जरुरी छ । आफ्नै कर्तुतको चङ्गुलमा पारेर प्रधानमन्त्री तथा पार्टी सभापति देउबालाई हस्तक्षेप गराई रातारात अर्कैलाई टिकट दिने हुँदा निजले हार्नु परेपछि नेता के.सी.माथि हारको दोष थोपर्नु निर्लज्जताको पराकाष्ठा हो । पार्टी सभापति देउबाबाट हस्तक्षेप गराएर उम्मेद्वार बनाइएका ती कार्यकर्ताहरूलाई नै उनीहरूले कति सहयोग पुर्याए अनि नेता के.सी.ले कति सहयोग पुर्याए तिनै उम्मेद्वारहरूको मुखबाट भन्न लगाइयो भने पनि वास्तविकता खुलस्त हुनेछ । होइन भने आफ्नो दोषको सजायँ अर्कैलाई दिन खोज्ने र आफू सँधै चोखो हुन खोज्ने प्रवृत्तिले नेता के.सी.लाई फरक पर्ला नपर्ला, समग्रमा काँग्रेसको नै अहित हुने भने पक्का छ।