विद्यार्थीलाई चित्त बुझाउन तत्कालै बस व्यवसायीलाई फोन गरे पोखराका मेयरले
प्रकाशित २०७४ असार २५ आइतबार
363
Shares
काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले पोखरामा विद्यार्थीले पाउनुपर्ने छुट सुविधा सार्वजनिक सवारीमा २४ घण्टा प्रदान गर्ने बताएका छन् । यसको लागि उनले सरोकारवाला निकायहरुलाई आवश्यक निर्देशन समेत दिने आश्वासन दिएका छन् । आइतबार अनेरास्ववियु पोखरा इञ्जिनियरिङ कलेजका विद्यार्थीहरुले परिचयपत्रमार्फत् छुटको व्यवस्था सुनिश्चित गर्न पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ज्ञापन पत्र बुझाएको थियो । सोही ज्ञापन पत्र बुझ्दै उनले विद्यार्थीहरुलाई यस्तो आश्वासन दिएका हुन् ।
ज्ञापन पत्र बुझ्दै मेयर जिसीले विद्यार्थी परिचयपत्रका आधारमा विद्यार्थीले जुन सुकै समयमा पनि विद्यार्थी छुट पाउनु पर्ने बताएको अनेरास्ववियु कास्कीका सहसचिव सञ्जय पौडेलले बताए । उनका अनुसार मेयर जिसीले कार्यकक्षबाट पोखरा नगर बस व्यवसायी समितिका अध्यक्षलाई टेलिफोन गरी विद्यार्थी पत्रका आधारमा चौबिसै घण्टा ४५ प्रतिशत छुट गर्ने सरकारी नीतिको पक्षमा उभिन व्यवसायीहरुलाई निर्देशन समेत गरेका थिए ।
गत बिहिबार साँझ पोखरामा यात्राका क्रममा अनेरास्ववियु केन्द्रीय सदस्य रिता ढकाल विद्यार्थी परिचयपत्रका आधारमा छुट दिन नगरबसले अस्वीकार गरी दूव्र्यवहार गरेपछि अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ । साँझमा विद्यार्थी छुट दिन नमिल्ने भन्दै तोकिएको भन्दा बढि भाडा उठाउन खोज्दा त्यसको प्रतिकार गरेपछि उनलाई बस नं. ग १ ख ५००४ ले आफ्नो बसबाट ओरालिएको अनेरास्ववियूले जनाएको छ।
यसैबीच पीडित ढकालले मेयर तथा पोखरा बस व्यवसायी समितिलाई उक्त घटनाका दोषीहरुलाई कारबाही गर्नका लागि लिखित निवेदन समेत दिएकी छिन् । अनेरास्ववियुले आइतबार नै पोखरा बस व्यवसायी समितिलाई समेत ज्ञापन पत्र बुझाएको अनेरास्ववियु पेकका अध्यक्ष प्रदीप पोख्रेलले जनाए ।
पोखरा १५ मा वृहत सरसफाइ कार्यक्रम सम्पन्न
यसैबीच, पोखरा लेखनाथ महानगरपालिका वडा न १५ मा वडा कार्यलयका नवनिर्वाचित जनप्रतिनिधिहरुको आयोजनामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडामा क्रियाशील टोल विकास संस्था, आमा समूह, युवा क्लव, सशस्त्र प्रहरी बल, वडा प्रहरी कार्यालय रामबजार, रेन्बो एकेडेमी, हर्वड एकेडेमी, पोखरा रोल्पाली सम्पर्क समाज आदिको सक्रिय सहभागिता रहेको थियो । सरसफाइ कार्याक्रम वडाभरी प्रभावकारी तरिकाले सम्पन्न गरी सिङ्गो वडामा एकै पटक सरसफाइ भएको सन्देश प्रदान गरिएको ६ नं वडा अध्यक्ष प्रकाश पौडेलले बताए ।
उक्त सरसफाई कार्यक्रम वडा सदस्य तोरन बहादुर बानियाँको संयोजकत्वमा सम्पन्न भएको थियो । उक्त अवसरमा सरसफाइ कार्यक्रमलाई हरेक टोलमा नियमितता दिएर अनुगमन र मुल्यांकन गरी पुरस्कृत गरिने वडा अध्यक्ष प्रकाश पौडेलले घोषणा गरेका थिए । साथै उक्त अवसरमा वडामा सामाजिक काम सक्रिय र गतिशिल युवाहरुलाई समेत सम्मान गरिने बताए । कार्यक्रममा माछापुच्छ्रे मार्गको करिब १ किलोमिटर लामो सडकखण्डमा दोहोरो नाली सरसफाई गरिएको थियो ।