arrow

नगरको पहिलो बजेट : स्वास्थ्य बीमाको आधा रकम नगरपालिकाले व्यहोर्ने

logo
प्रकाशित २०७४ असार २५ आइतबार
swasthya_bima.jpg

काठमाडौँ  । नागार्जुन नगरपालिकाले पारिवारिकरुपमा गर्ने स्वास्थ्य बीमाको आधा रकम व्यहोर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४–०७५ को नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै पाँचजनाको प्रतिपरिवारको  दुई हजार ५०० लाग्नेमा एक हजार २५० नगरपालिकाले व्यहोर्ने भएको हो ।

नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले विपन्न परिवारका लागि व्यापार व्यवसाय सञ्चालनका लागि हरेक वडाका पाँच परिवारलाई तीन लाखदेखि पाँच लाखसम्म अनुदान रकम उपलब्ध गराउन लागेको जानकारी दिए ।

उनले हरेक परिवारलाई सुन्तला, कागती, एवोकाडोलगायतका फलफूलको विरुवा निःशुल्क वितरण गर्न लागेको बताए । नगरपालिकाले वडाबाट आएका सिफारिसलाई उच्च प्राथमिकता दिएको छ । बस्नेतले भने,  “हामी जनप्रतिनिधि हौँ, जनताको आवश्यकतालाई उच्च प्राथमिकता दिएका छौँ ।”

नगरपालिकाले आव २०७४–०७५ का लागि ६४ करोड ७२ लाख ९० हजार प्रस्ताव गरेको छ जसमा चालू खर्च २१ करोड ६९ लाख ९० हजार, पूँजीगत खर्च २३ करोड ५३ लाख, समपूरक कोष चार करोड ५० लाख र नपा तथा वडाका भवन निर्माणतर्फ १५ करोड छ ।

पहिलो नगरसभाको बैठकमा बजेट प्रस्तुत गर्दे उपप्रमुख सुशीला अधिकारीले वातावरणमैत्री नगरपालिका निर्माण, फोहोरमैला व्यवस्थापन, सडक सौर्यबत्ती जडानलगायत कार्यलाई उच्च प्राथमिकता दिइएको बताए ।

उनले भूकम्पबाट पूर्ण क्षति भएका परिवारलाई जतिसक्दो चाँडो अनुदान रकम उपलब्ध गराउन नगरपालिका लागेको बताउँदै पीडितको घर नक्सापास दस्तुर छुट दिन लागिएको बताए ।

यस्तै, सुशासन कायम, स्वीजरल्याण्ड पार्क व्यवस्थापन, महिला विद्यालय, ज्येष्ठ नागरिक दिवा विश्रामस्थल निर्माण, बढी कर तिर्ने करदातालाई प्रोत्साहन, होमस्टे सञ्चालनलगायत कार्यलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ