गृहमन्त्री शर्मालाई काठमाडौँको ट्राफिक जाम देखि कैदीसम्मको पिरलो
भन्छन्–गृहसँग प्रसस्त अधिकार छैन
प्रकाशित २०७४ असार २५ आइतबार
903
Shares
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जाम हटाउने काम गतिले भइरहेको बताएका छन् । व्यवस्थापिका संसदमा विनियोजन विधेयकबारे गृह मन्त्रालयसँग सम्बन्धित विषयहरुमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन् ।
मन्त्री शर्माले १५ दिनभित्र विस्तृत योजना बनाउने र २–३ महिनाभित्र परिणाम देखाउने उद्घोष समेत गरे । मन्त्री शर्माले भनेका छन्, ‘ट्राफिक जामको समस्या समाधानका लागि सरोकारवाला निकायहरुसँगको छलफलपछि काठमाडौं महानगरका कार्यकारीको संयोजकत्वमा एउटा कमिटी गठन गरेर व्यवस्थित योजना बनाउने काम भइरको छ । १५ दिनभित्र योजना तयार गरेर २–३ महिनाभित्र रिजल्ट आउनेगरी काम गर्नका लागि प्रक्रिया अघि बढिसकेको छ ।’
गृमन्त्री शर्माले आइतबार मात्रै उपत्यकाको जाम हटाउने उपायका विषयमा ट्राफिक प्रहरी प्रमुख डिआइजी मिङ्मार लामासँग छलफल गरे । मन्त्री शर्माले उपत्यका बाहिरबाट आउने गाडीहरु शहरको भित्री भागसम्म पुग्ने कार्यलाई रोकेर चक्रपथ बाहिरै राख्नेगरी छलफल अघि बढेको जानकारी दिए ।
यस्तै, गृहमन्त्री शर्माले ट्राफिक जामको समस्या समाधान गर्न गृहमन्त्रालयसँग थोरै मात्र अधिकार रहेको समेत बताए । मन्त्री शर्माले भने, ‘ट्राफिक प्रहरी परिचालन गर्नेबाहेक अन्य अधिकार गृह मन्त्रालयसँग छैन, त्यसैले सरोकारवाला मन्त्रालयका सबै विभागिय प्रमुखलाई राखेर एउटा व्यवस्थित योजना बनाउने काम भइरहेको छ ।’
यस्तै, गृहमन्त्री शर्माले कैदी बन्दीको अवस्था अवस्थाबारे पनि चिन्ता जनाए । मन्त्री शर्माले जेलहरु जिर्ण भएको बताउँदै कतिपय जेल अहिलेको अवस्थामा बस्नै नमिल्ने खालका रहेको सुनाए ।
भूकम्पले कैदीबन्दीलाई जेलभित्रै बस्न समस्या सिर्जना गरिदिएको भन्दै यसको व्यवस्थापनमा समेत सरकारले ध्यान दिने मन्त्री शर्माको भनाई छ ।