arrow

पाल्पाको तिनाउ खोलाले जिप बगाउँदा चारजना बेपत्ता

logo
प्रकाशित २०७४ असार २६ सोमबार
palpa.jpeg

रामपुर (पाल्पा)। खोलाले जिप बगाउँदा पाल्पामा चारजना बेपत्ता भएका छन्। माथागढी गाउँपालिका–३ सराइस्थित तिनाउ खोला तर्ने क्रममा गएराति करिब २:३० बजे लु१ज १२१७ नंको जिप बगाउँदा त्यसमा सवार चार जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा माथागढी–१ चिदिपानीका करिब ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती ३५ वर्षीय माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदम कुँवर र जिप चालककी श्रीमती तानसेन नगरपालिकाका करिब २८ वर्षीया उषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जानकारी दिए।

जिप चालक शक्ति बस्नेतको सकुशल उद्धार गरिएको छ भने बेपत्ता यात्रु र जिपको खोजी कार्य जारी छ। खोलामा पानीको बहाव बढेपछि उद्धार कार्यमा समस्या परेको प्रहरी जनाएको छ।

पहिरोले सडक अवरुद्ध हुँदा यात्रु मारमा
लगातारको वर्षाका कारण पहिरो जाँदा पाल्पाका विभिन्न सडकहरु अवरुद्ध भएपछि यात्रु मारमा परेका छन्। सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम तानसेनबाट रामपुरका लागि छुट्ने गाडीहरु गन्तव्यमा पुग्न सकिरहेका छैनन्।

रामपुरबाट सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौँलगायतका स्थानमा छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन्। एक हप्तादेखि परेको वर्षाले जिल्ला सदरमुकाम तानसेन जोड्ने रामपुर आर्यभञ्ज्याङ सडकखण्ड अन्तर्गत सानो गल्धाको बैछापमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको हो।

सो बाटो भएर गुड्ने सवारीसाधन नचल्दा यात्रुहरु बीचबाटोमै अलपत्रमा परेका छन्। यहाँ डोजर लगाएर पहिरो पन्छाउने काम भए पनि पुनः बेलाबेलामा पहिरो खस्दा निकै समस्या उत्पन्न भएको छ।

यस्तै रामपुरदेखि छुट्ने ग्रामीण सडकमा पनि एक हप्तादेखि नै सवारीसाधन चल्न सकेका छैनन्। रामपुरदेखि मित्याल, झिरुवास, गल्धा, अर्चले, हुँगी, गेझा, पूर्वी पाल्पाको बाकामलाङ, सहलकोटलगायत स्थानमा छुट्ने सवारीसाधन चल्न सकेका छैनन्। ग्रामीण सडकहरु अवरुद्ध भई सवारीसाधन नचल्दा यस क्षेत्रका जनता मर्कामा परेको बाकामलाङका चेतन पुलामी बताउछन्। सवारीसाधन चल्न नसक्दा दैनिक उपभोग्य वस्तु गाउँमा निर्यात नभएपछि सर्वसाधारणको जीवन गुजारा गर्न समस्या थपिएको उनले बताए।

जिल्लाको दोस्रो व्यापारिक केन्द्र रहेको रामपुर बजारमा खाद्यान्नलगायतका अति आवश्यक सामग्री ओसारपसार गर्न नपाउँदा यहाँका जनता मारमा परेका हुन्। कच्ची बाटो अवरुद्ध हुँदा सुत्केरी बिरामीलाई अस्पतालसम्म पुर्‍याउन निकै समस्या परेको छ। एम्बुलेन्ससमेत चल्न नसक्दा पूर्वी पाल्पाका जनतालाई ठूलो सास्ती खेप्नु परेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ