विशेषज्ञ परीक्षामा फेल भएका चिकित्सकले भनसुन गरिदिनुस् भन्छन्
प्रकाशित २०७४ असार २६ सोमबार
203
Shares
काठमाडौं । निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने अनुमति पाउने परीक्षामा भनसुन चल्न नहुने बताएका छन् ।
भनसुनका आधारमा अदक्षलाई पास गराएर जनताको स्वास्थ्य माथि खेलबाड गर्न छुट दिन नहुने उनको भनाई छ । हालै भएको विशेषज्ञ चिकित्सकको नाम दर्ताको परिक्षामा फेल भएका ७० प्रतिशत चिकित्सकहरु मध्ये केहीले पास गराईदिन भन्दै आफुसँग भनसनु गरेको सुनाउँदै थापाले भनसुनका आधारमा पास गराउन नहुने बताए ।
पाल्पाको मुना मेमोरियल ट्रष्टले वीरअस्पतालमा गरेको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले पुराना र अनुभवी चिकित्सकहरु रहेको वीर अस्पताललाई श्रोतसाधन सम्पन्न गराउन आफ्नो कार्यकालमा अस्पतालले मागेजती रकमको व्यवस्था गरिदिएको स्मरण गरे ।
वीर अस्पताललाई जनशक्ति र श्रोतसाधनले सुविधा सम्पन्न गराउन सरकारको सहयोगले मात्रै नभई मुना मेमोरियल ट«ष्ट जस्ता परोपकारी संस्थाहरुसँगको सहकार्य पनि आवश्यक रहेको बताए । अस्पतालले विश्वास कायम गर्न सकेमा मात्रै सहयोगीहरु आकर्षित हुनसक्ने तर्फ अस्पताल व्यवस्थापनको थापाले ध्यानाकर्षण गराए ।
कार्यक्रममा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. गणेश बहादुर गुरुङ र अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले निवर्तमान मन्त्री थापाको कार्यकालमा मागेजती बजेट पाएकाले वीर अस्पतालमा धेरै सुधार भएको बताए । कतिपय कामहरु सम्पन्न हुन बाँकी भएकाले केहीसमयपछि मात्रै जनताले त्यसको अनुभूति गर्न पाउने जिकिर गरे ।
कार्यक्रममा पत्रकार ऋषि धमलाले ट्रष्टले अनुकरणीय तथा पुण्य कार्य गरेको र निवर्तमान मन्त्री थापाले आफ्नो कार्यकालमा जनताको मन थप जितेको भन्दै प्रशंसा गरे ।
पाल्पाको रामपुर नगरपालिका –१० मा जन्मिएकी मुना अधिकारी पौडेलले वीर अस्पतालमा लामो समय स्वास्थ्यकर्मीको रुपमा सेवा गरेकी थिइन् । क्यान्सरका कारण उनको निधन भएपछि २०६८ सालमा उनकै नाममा स्थापना भएको ट्रष्टले उनकै चाहना अनुसार स्वास्थ्य क्षेत्रमा परोपकारी काम गर्दै आएको छ ।
ट्रष्टले उनको जन्मस्थान पाल्पा रामपुरमा झण्डै १५ लाखको लागतमा मुन स्मृति सामुदायिक भवन बनाइएको छ । त्यसमा अहिले नगरपालिकाको सहरी स्वास्थ्य क्लिनीक संचालन भईरहेको ट्रष्टका अध्यक्ष अमृत अधिकारीले जानकारी दिए । भवनको व्यवस्थापनको जिम्मा स्थानीय सृजना आमा समूहलाई दिइएको र उनले अध्ययन गरेको स्थानीय जनकल्याण उच्चमाविबाट प्रवेशिका परिक्षामा सर्वाधिक अंक ल्याउने छात्रालाई नगद पुरस्कार दिने गरिएको छ । यस्तै, एक जना उत्कृष्ट छात्रालाई सिएमए पढ्ने व्यवस्था गरिएको पनि अधिकारीले बताए ।
ट्रष्टले सोमबार अष्ट्रिया नेपाली समाजको सहयोगमा वीर अस्पतालका सवै शय्यालाई एक एक ओटा पुग्नेगरी तीन सय ७० थान विरामीले लगाउने पोशाक दिएको हो ।