काठमाडौं । सरकारले नेपाल प्रहरीमा थप ११ एआईजीको दरबन्दी सिर्जना गरेको छ । गृह मन्त्रालयले १३ एआईजी दरबन्दी बढाउन प्रस्ताव गरे पनि अर्थमन्त्रालयले असहमति जनाउँदा ११ जनाको दरबन्दी मात्रै थपिएको हो ।
मन्त्रीपरिषदले दरबन्दी थप्ने निर्णय गरेसँगै गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र प्रहरी महानिरिक्षक सदस्य सचिव रहेको बढुवा समितिले एआईजी बढुवाका लागि सिफारिस गर्ने गर्दछ । गृहमन्त्री जनार्दन शर्मा बढुवाका लागि सिफारिस गरेर मंगलबार सार्क राष्ट्रका गृहमन्त्रीसहित हुने सम्मलेनका लागि श्रीलंकामा जाने तयारीमा रहेका बताइएको छ ।
प्रहरी प्रमुख नियुक्तिका क्रममा लामो समय विवाद भएपछि त्यसको असर प्रहरी बढुवामा परेको छ । ७ प्रदेशमा एआईजीको नेतृत्वमा कमाण्ड रहने गरी बढुवा भएका एआईजीलाई जिम्मेवारी सुम्पने गृहको तयारी छ । प्रहरी प्रधान कार्यालयले जयबहादुर चन्द, बमबहादुर भण्डारी, माधव जोशी, विजय भट्ट, केशरी घिमिरे, मधु पुडासैनी, देवेन्द्र सुवेदी, हेमन्त मल्ल, पशुपति उपाध्याय लगायतलाई एआईजीमा बढुवा गर्नेगरी नामावली तयार पारेको बताइँदै छ ।
प्रहरी नियमावली २०७१ जारी भएपछि बढुवामा देखिने गरेको विवाद अझै निरुपण हुन सकेन । गृहमन्त्री शर्माले सुरक्षा नीति ल्याएपनि विवाद निरुपणबारे तत्कालै प्रगति हुने नदेखिएको बताइएको छ ।