arrow

राजकुमार हत्याको डेढ घण्टा अघि रणबहादुरको हत्या भएको रहस्य खुल्यो

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
hatrya_news1.jpg

तुलसीपुर । दाङको तुलसीपुर उपमहानरपालिका–५ का व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेको भनिएका घोराहीका रणबहादुर घर्तीमगरको पनि हत्या भएको रहस्य बाहिरिएको छ ।

गएको जेठ २६ गते व्यापारी श्रेष्ठसँगै ठेकेदार रणबहादुर पनि अपहरणमा परेका थिए । व्यापारी श्रेष्ठको अपहरणका मूख्य योजनाकार पक्राउ परेसँगै ठेकेदार रणबहादुरको हत्याको रहस्य बाहिरिएको हो । प्रहरी अनुसन्धानमा श्रेष्ठको हत्या गर्नु भन्दा कम्तिमा डेढ घण्टा अघि मात्रै अपहरणकारीले ठेकेदार रणबहादुरको हत्या गरेको तथ्य खुलेको राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी ज्ञानविक्रम शाहले बताएका छन् ।

व्यापारी श्रेष्ठको अपहरण र त्यपछि भएको हत्याका योजनाकार भनिएका तुलसीपुर उपमहानगरपालिका–६ का ४० वर्षीय निर्मल नामले चिनिदै आएका  टिकाराम घर्ती, उनकी छोरी २० वर्षी पूजा र मानबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि ठेकेदार रणबहादुरको पनि हत्या रहस्य बाहिर आएको एसएसपी शाहले बताए । उनले भने, ‘पक्राउ परेकाहरुले श्रेष्ठभन्दा करिव डेढ घण्टा अगाडि रणबहादुरको हत्या गरेर फालेको बयान दिएका छन् ।’

‘पक्राउ परेकाहरुले रणबहादुरको पनि हत्या गरेको बयान दिएका छन् । तर, उनको शव कहाँ छ भन्ने खुल्न सकेको छैन । प्रहरी घटनास्थल जाने तयारी गरिरहेको छ,– एसएसपी शाहले भनेका छन् ।

सोमबार राति बाँकेको डुडुवा गाउँपालिका–६ स्थित नेपाल–भारत सीमामा पर्ने हरमोनियाबाट पक्राउ परेका घटनाका योजनाकार भनिएका टिकाराम घर्ती मगर र उनकी छोरी पूजाले व्यापारी श्रेष्ठभन्दा पहिले ठेकेदार रणबहादुरको हत्या गरेको बयान दिएका हुन् ।

प्रारम्भिक बयानका क्रममा टिकारामले रकम असुलीका लागि अपहरण गरेको स्वीकारे । टिकारामले आफूलाई ऋणले च्यापेपछि रकम असुली गर्ने योजनाका साथ व्यापारी श्रेष्ठको अपहरण गरेको बयान दिएका छन् । मुख्य योजनाकार तुलसीपुर–८ का २८ वर्षीय भुपेन्द्र भण्डारी र तुलसीपुर–११, कटाहाका ३० वर्षीय खुमबहादुर केसी, योजनाकार भनिएका टिकाराम, उनकी छोरी पूजा र सल्यान झिम्पे–४ का ३५ वर्षीय मानबहादुर भण्डारीलाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । प्रहरीले दाङ, काठमाडौ र बाँकेको नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ परेका  मध्ये ६ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार व्यापारी श्रेष्ठको अपहरण र हत्याको घटनामा १४ जना संलग्न रहेको थाहा भएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेर हाल फरार रहेका अन्य सात जनाको खोजी भइरहेको छ । यसअघि प्रहरीले अपहरणपछि व्यापारी श्रेष्ठको हत्यामा संलग्न रहेको अभियोगमा तुलसीपुर–१२ का २५ वर्षीय ‘कमल’ उर्फ अबिरल महतरा, दाङ घोराही उपमहानगरपालिका–१४ नयाँ बजारकी ३८ वर्षीया जमा पुन, तुलसीपुर उपमहानगरपालिका–६, का २३ वर्षीय रुगत थापा मगर र रोल्पा जम्कोट १ घर भई हाल घोराही उपमहानगरपालिका–४, का ४० वर्षीय मनबहादुर पुनलाई पक्राउ गरेको थियो ।

यसअघि गत जेठ २६ गते साँझ अपहरणमा परेका व्यापारी श्रेष्ठको शव असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जङ्गलमा ढुंगाले पुरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । व्यापारी श्रेष्ठसँगै हत्या गरिएका रणबहादुरको शव पनि सोही जङ्गलमा हुन सक्ने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुसँग थप बयान लिएपछि शव कहाँ छ भन्नेबारे पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

प्रहरीले व्यापारी श्रेष्ठको अपहरणमा मुख्य योजनाकार टिकारामले आफ्नी २० वर्षीया छोरी पूजा घर्तीमगरलाई प्रयोग गरेको जनाएको प्रारम्भिक जानकारी दिएको थियो । भारतीय नम्बर प्लेटकै कारमा सवार रहेका घोराहीका ठेकेदार रणबहादुरलाई व्यापारी श्रेष्ठसँगै अपहरणकारीको टोलीले सल्यानबाटै अपहरण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ