२००७ सालको क्रान्तिका साक्षी रामहरि जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बीपीनगरमा
प्रकाशित २०७४ असार ३० शुक्रबार
648
Shares
काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता, विसं २००७ सालको क्रान्तिका साक्षी एवं पूर्व मन्त्री रामहरि जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन शुक्रबार बिहान काँँग्रेस मुख्यालय सानेपा बीपी नगरमा राखिएको छ । बिहीबार बेलुकी ७ः३० बजे काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।
नेपाली कांग्रेसको स्थापनाकालदेखि नै नेपाली राजनीतिमा उनी निरन्तर संलग्न रहँदै आएका थिए । २००७ सालको क्रान्तिको समयमा प्रचार समितिमा रहेर स्वर्गीय जोशीले स्वदेश तथा विदेशमा प्रजातन्त्रका पक्षमा सम्पर्क स्थापित गरेका थिए ।
स्वर्गीय जोशी २०४८ सालमा सर्लाही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यसैगरी विसं २०५१ र २०५६ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट उनी पार्टीको उम्मेदवार थिए ।
विसं २०४८ मा उनी शिक्षा र पर्यटन मन्त्री भएका थिए । स्वर्गीय जोशी नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको पूर्व सम्पादक समेत थिए ।
प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा स्वर्गीय जोशीले लामो समयसम्म जेलजीवन व्यतित गरेका थिए ।
विसं १९८३ मा सर्लाहीमा जन्मिएका स्वर्गीय जोशी सादा र सरल जीवन पद्धतिमा विश्वास गर्दथे ।
नेपाली राजनीतिमा उनी गान्धीवादी र समाजवादी नेताका रुपमा चिरपरिचित थिए ।
नेपाली काँग्रेसले विज्ञप्ति जारी गरी स्वर्गीय जोशीको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले भनेका छन्– “नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनमा सक्रिय भूमिका निर्वाह गर्नु भएका नेपाली कांग्रेसका पुराना नेता एवं पूर्व मन्त्री रामहरि जोशीको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । स्व जोशीले पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रुपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । लामो त्याग र वलिदानबाट प्राप्त नेपालको संविधान कार्यान्वयनको चरणमा भएको उहाँको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”
जोशीको पार्थिव शरीरलाई शुक्रबार ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने पनि काँग्रेसले जनाउको छ ।
शुक्रबारै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।