arrow

कुरामा मात्रै मानव अधिकार,तीन महिनामा बस्नुपर्ने बैठक चार वर्षमा तीन पटक 

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
human-trafficking1.jpeg

काठमाडौँ । सामाजिक न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयमा आवश्यक चासो नदिएको भनी सरकारको आलोचना गरेको छ । 

प्रतिवेदन कार्यान्वयनका लागि सिफारिश गरिएको प्रतिवेदन १४ प्रतिशत मात्र कार्यान्वयन हुने गरेका घटनाले मानवाधिकारको विषयलाई सरकारले बेवास्ता गर्दै आएको पुष्टि भएको समितिले निष्कर्ष निकालेको छ । आयोगको प्रतिवेदनमा सिफारिश गरिएका ३७ प्रतिशत विषयलाई लामो समयदेखि सम्बोधन नगरिएको भनी बैठकमा तथ्याङ्कसहितको प्रतिवेदन पेश गरियो । 

मानवअधिकार राष्ट्रिय कार्यान्वयन समितिको प्रत्येक तीन महिनामा एक पटक बस्नुपर्नेमा बैठक पछिल्लो चार वर्षमा तीन वटा मात्र हुनु भनेको मानवाधिकार विषयमा ध्यान पु¥याउन नसकेको भनी बैठकमा सरकारको काम गर्ने शैलीप्रति आलोचना गरिएको छ । मुख्य सचिवको संयोजकत्वमा रहने उक्त समितिमा सवै मन्त्रालयका सचिव सदस्यका रुपमा रहेका छन् । मानवअधिकार आयोगका प्रतिवेदन हरेक वर्ष व्यवस्थापिका–संसद्मा छलफल गर्नुपर्नेमा १० वर्षयता सो विषयले संसद्मा प्रवेश पाउन सकेको छैन । 

प्रजिअको अध्यक्षतामा जिल्लामा रहने समितिलाई बैठक र कार्यक्रम चलाउन वार्षिक रुपमा रु एक लाख उपलब्ध गराउने नीति भए पनि कतिपय जिल्लामा त्यो रकम निकासा नभएको तथा कतिपय प्रजिअलाई आफू अध्यक्ष रहने समितिकै बारे पनि अनभिज्ञता हुने गरेको जानकारी गराइयो । 

नवनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले आफ्नो देशको साधन, स्रोत, जनशक्ति र अन्य पक्षलाई हेक्का नराखी मानवाधिकारलगायत कतिपय विषयमा विकसित मुलुकले नगरेका सन्धि र महासन्धिमा फटाफट हस्ताक्षर गर्ने प्रवृत्तिले चुनौती खडा गरेको बताए। उनले भने, “संसद्को काम र कर्तव्यमाथि पनि निर्मम समीक्षा गर्नुपर्छ, मन्त्रालयलाई साम्राज्यका रुपमा चलाउने प्रवृत्तिले संस्थागत सुधारमा बाधा अड्चन खडा गरेको छ, सीमित स्रोतका कारणले नै मानवअधिकार कार्यान्वयनमा चुनौती खडा गरेको हो ।” 

“मानवअधिकारको प्रतिवेदन कार्यान्वयनको अवस्था सन्तोषजनक छैन, सुधार ल्याउने भनेर प्रतिबद्धता मात्र व्यक्त गर्ने काम भएको छ, विद्यालयको पाठ्यक्रममा नै यो विषयलाई समेटिनुपर्छ, मानवअधिकारको कार्यान्वयनलाई सफल तुल्याउन सम्पूर्ण तह र तप्कालाई जिम्मेवार बनाउनुपर्छ, कानून बनाउँदै जाने र पुरानोलाई छिमल्दै जाने पक्षले पनि कार्यान्वयनमा जटिलता ल्याएको छ”, उनले भने। 

बैठकमा सांसदले नीति मात्र नभई कार्यान्वयन तहमा बस्नेको नियत राम्रो हुन आवश्यक रहेको बताउनुभयो । मानवअधिकारको घटना गाउँ गाउँमा हुने भएकाले सिंहदरबारमा बस्नेले त्यसको मर्म बुझ्न नसकेको बताउँदै समितिका सदस्यले सरकारी कामकारबाही औपचारिकतामा मात्र सीमित हुने प्रवृत्तिले मानवअधिकार उल्लंघनका घटना ज्यूँका त्यूँ रहँदै आएको भनी रोष प्रकट गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ