नक्सा पास गर्दा ठगिने आशंका छ ? ११३० ले जोगाउँछ ठगिनबाट
प्रकाशित २०७४ असार ३१ शनिबार
698
Shares
काठमाडौैं । २०७२ सालको विनाशकारी भूकम्पले घर क्षति भएकोले सिन्धुपाल्चोकका भगवान अधिकारीेले नयाँ बनाउने घरको नक्शा पास गर्न प्राविधिकको सहयोग लिएका थिए । प्राविधिकले दश हजार शुल्क लाग्छ भनी उनीबाट पैसा लिएर गएका रहेछन् । उनले शंका लागेर रेडक्रसबाट सञ्चालित निशुल्क हटलाइन ११३० मा फोन गरे । उनको फोन पाएपछि हटलाईन स्वयंसेवकले सम्बन्धित मेलम्ची नगरपालिकाको कार्यालयमा जानकारी गराएका थिए ।
केही दिन पछि फोन गरेर हटलाईन ११३० लाई भगवान अधिकारीले धन्यवाद मात्रै दिएनन् उनले रेडक्रस स्वयंसेवक राजन भण्डारीलाई “तपाइहरुको फोनको कारण नगरपालिकाले पैसाको विषयमा सम्बन्धित प्राविधिकलाई सोधखोज गरेछ । हिजो मेरो घरमा प्राविधिक स्वयम् उपस्थित भई उक्त रकम फिर्ता दिए । प्राविधिकले गल्ती महसुस गरेका छन्, त्यसैले उनको नाम उल्लेख नगरीदिनु होला” भन्दै सो सेवाको प्रशंसा गरे ।
त्यस्तै, वक्राङ गोरखाका बाबुराम पन्तले रेडक्रस आफू जिविकोपार्जन कार्यक्रमको लाभग्राही सूचीमा पर्नुपर्नेमा नपरेकोले फोनमार्फत् गुनासो गरेपछि समस्या समाधान भएको अर्को उदारण पेश गर्दै गत एक वर्षमा एक हजार सातसय ८३ फोनकल पाइएको र देखिएका समस्याहरु समाधान गर्दै आएको कुरा रेडक्रस हटलाईनका अर्का स्वयंसेवक सरिता लामाले जानकारी दिइन् ।
रेडक्रसका सेवा तथा गतिविधिबारे टिप्पणी, सुझाव, गुनासो वा प्रश्नहरु भएमा जो कोहीले पनि हटलाइन ११३० मा नेपाल टेलिकम र एनसेलका मोबाइल फोन तथा ल्याण्डलाईनबाट निशुल्क फोन गर्न सक्ने व्यवस्था गरिएको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्य राज पौडेलले बताए । उनले भने : “वि.स. २०७२ को विनाशकारी भूकम्प पछि अति प्रभावित १४ जिल्लामा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको भूकम्प प्रतिकार्य कार्यक्रमका गतिविधि र संस्थाका अरु नियमित कार्यमा जनसहभागिता र स्वीकार्यता वढाउन तथा पारदर्शी बनाउन यो हटलाईन अत्यन्तै सहयोगी देखिएको छ ।”
कार्यप्रतिको गुनासोकोे सम्मान र सुनुवाईको लागि संस्थाको जवाफदेहिता वढाउन एक वर्ष अघि यो हटलाइनको ११३० को स्थापना गरिएको थियो । हटलाइनमा प्राप्त महत्वपूर्ण प्रश्नहरु आवश्यकताअनुसार विभिन्न निकायमा पठाई समस्या समाधान गर्ने प्रयत्न गरिएको र महत्वपूर्ण सबालहरुलाई प्रकाशनहरु मार्फत् पनि स्पष्ट पार्ने गरिदै आएकोछ ।