arrow

नेपालमा मात्रै होइन विश्वभरी नै छ 'साउने संक्रान्तिको क्रेज', यी मन्दिरमा लाग्छन् भव्य मेला

logo
कल्की अवतार,
प्रकाशित २०७४ साउन १ आइतबार
saune-sakrianti1.jpeg

काठमाडौं । साउने संक्रान्ति अर्थात् हिन्दू धर्मालम्बीहरुको एउटा पवित्र महिनाको सुरुवातको दिन हो आज । आजकै दिनबाट एक महिनासम्म हिन्दू धर्मालम्बीहरुले विभिन्न शिवालयमा गएर पवित्र आत्माले भक्ति पूजा आराधना गर्ने गरेका छन् । आजकै दिन विभिन्न विधि तथा प्रक्रिया द्वारा हिन्दू धर्मालम्बीहरुले लूतो फाल्ने पनि गरेका छन् । 

असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादि रोगबाट जोगिनको लागि यो दिन लूतो फाल्ने गरिएको हो । लूतो फाल्दा कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधिजन्य वनस्पतिमा कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ । तर केही वर्षदेखि भने लुतो फ्याँक्ने प्रचलन बिस्तारै हराउन थालेको छ ।

यसै दिन देश तथा विदेशमा अवस्थित विभिन्न शिवालयहरुमा धुमधामका साथ मेला लाग्ने गरेको छ । यसमा नेपाल र भारतका विभिन्न शिवालय बाहेक पनि तेस्रो मुलुकमा पनि धुमधामका साथ मेला लाग्ने गरेको छ । यसरी विभिन्न देशहरुमा रहेका शिवालयहरु जहाँ साउने स‌ंक्रान्तिको दिन मेला लाग्छ, तिनीहरुको स‌ंक्षिप्त विवरण तल प्रस्तुत गरिएको छ । 

भारतीय शिवालयहरु : 
भारतमा धेरै शिवालयहरु रहेका छन् । काशी विश्वनाथ मन्दिरदेखि साना तिना शिवालयहरु समेत गरेर भारतका प्रत्येक राज्य र प्रत्येक गाउँगाउँमा साउने संक्रान्तिको दिन मेला लाग्ने गरेको छ । त्यसैले भारतको यो ठाउँमा यो मन्दिर भनेर भन्न सम्भव नहोला । 

कैलाश मान सरोवर : चीन 
कैलाश पर्वत समुन्द्री सतहदेखि २२ हजार ६८ फिट उचार्इमा रहेको छ । हिमालयको उत्तरी क्षेत्र अन्तर्गत् तिब्बतमा अवस्थित कैलाश  पर्वत र त्यहाँ रहेको मान सरोवर पनि धार्मिक हिसावले महत्वपूर्ण रहेको छ । साक्षात् शिवको निवास मानिएको यहाँ पनि श्रावण महिनाभरी नै विशेष मेला लाग्ने गरेको छ । 

रामलिङ्गेश्वर मन्दिर स् मलेशिया 
यो मीन्र मलेशियाको राजधानी क्लालालम्पुरमा रहेको छ । सन् २०१२ मा मलेशियन सरकारले उक्त मन्दिर तथा मन्दिरको आसपासको संरक्षण गर्नको लागि एउटा कोष नै खडा गरिदिएको छ । यही ट्रस्टले यहाँको संरक्षण गर्ने गरेको छ । यो शिवालयमा पनि साउन १ गते तथा महिनाभरी नै विशेष मेला लाग्ने गरेको छ । 

प्रम्बानन् मन्दिर ः इन्डोनेसिया 
इन्डोनेसियाको जावा भन्ने ठाउँमा यो मन्दिर रहेको छ । १० औं शताब्दीमा यो मन्दिर शहरबाट लगभग १७ किलोमिटरको दूरीमा रहेको छ । जावा द्वीपमा अवस्थित यो मन्दिर नेपाल तथा भारत भन्दा बाहिर रहेको सबैभन्दा ठूलो मन्दिर हो । युनेस्कोले पनि यसलाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ । 

सागर शिव मन्दिर ः मौरिशस
मौरिशसमा रहेको सागर शिव मन्दिरमा पनि साउने संक्रान्तिको दिन धुमधामका साथ मेला लाग्ने गरेको छ । २००७ सालमा निर्माण गरिएको मन्दिरको प्राङ्गणमा शिवको १०८ फिट अग्लो प्रतिमा बनाईएको छ । 

मुन्नेश्वरम् मन्दिर ः श्रीलंका
श्रीलंकाको एक गाउँमा मुन्नेश्वर मन्दिर बनाईएको छ । दक्षीण भारतीय द्रवीड शैलीमा निर्मित यो मन्दिरमा पनि साउन महिनाभरी नै विशेष मेला लाग्ने गरेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

 
कटासराज मन्दिर ः पाकिस्तान 
पाकिस्तानको पञ्जाव प्रान्तमा अवस्थित यो मन्दिर चकवाल जिल्लामा रहेको छ । यो मन्दिरको निर्माण छैटौं शताब्दीदेखि नवौं शताब्दीमा गरिएको किंवदन्ती छ । यो एक पहाडमा रहेको छ । यो मन्दिर त्रतायुगदेखि कै रहेको विश्वास गरिन्छ । यहाँ पनि श्रावण महिनामा मेला लाग्ने गरेको छ । 

शिवा हिन्दू मन्दिर एम्सटर्डम
लगभग ४ हजार वर्ग मिटरमा फैलिएको यो मन्दिरको ढोका भक्तहरुको लागि २०११मा खोलिएको थियो । यो मन्दिरमा भगवान शिवको साथमा गणेश देवी दूर्गा, भगवान, हनुमानको समेत पूजा गर्ने गरिएको छ । यहाँ पनि साउन महिनामा विशेष मेला लाग्ने गरेको छ । 

अरुल्मिगु श्री राजा कलिअम्मन मन्दिर मलेशिया 
१९२२को आसपासमा निर्माण गरिएको मानिने यो मन्दिर मलेशियाको जोहोर बरुको सबैभन्दा पुरानो मन्दिर मध्ये एक हो । यस मन्दिरमा पनि साउन महिनामा विशेष मेला लाग्छ । 

विश्वमा यस्ता कैयौं मन्दिरहरु छन् जुन हिन्दू संस्कृति भित्रका हरेक पर्वहरु धुमधामका साथ मनाउने गरेका । तर, जानकारीमा प्राप्त भएको सम्म मात्रै हामीले यहाँ प्रस्तुत गरेका छौं । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ