ठूला दलविरुद्ध खरो रुपमा उत्रिए उपेन्द्र र बाबुराम, यस्तो आयो वक्तव्य
२४० निर्वाचन क्षेत्र कायम गर्ने आयशका वार्ता लोकतन्त्र विरोधी
प्रकाशित २०७४ साउन १ आइतबार
369
Shares
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले २४० निर्वाचन क्षेत्र कायम गर्ने गरी चलेका बहसहरु लोकतन्त्र र गणतन्त्र विरोधी भएको बताएका छन् ।
फोरम अध्यक्ष यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले आइतबार संयुक्त वक्तव्य जारी गर्दै ‘राज्य संघीयताको प्रणालीमा प्रवेश गरिसकेको अवास्थमा फेरि संघीय व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० अनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्नेछ । त्यसैले, प्रदेशको चुनाव पहिले नै गरियोस्’,–भनेका छन् ।
यस्तै, दुवै नेताले संविधान संशोधन प्रक्रियालाई तत्काल टुंगो लगाउन अनुरोध गरेका छन् । सदनमा विचाराधीन संविधान संशोधनको विषयलाई आवश्यक परिमार्जन सहित संशोधन गरी टुंग्याएर मात्रै अगामी निर्वाचनहरुका लागि सहज वातावरण बन्नेछ, संयुक्त वक्तव्यमा भनिएको छ, ‘अन्यथा, सो विषयले गम्भीर राजनीतिक संकट ल्याउन सक्नेछ ।’
अध्यक्ष यादव र संयोजक भट्टराईले पुरानै संसदीय निर्वाचन क्षेत्र २४० कायम राख्ने प्रयास मान्य नहुने उल्लेख गरेका छन् ।
राज्य पुनःसंरचनाको कुनै पनि बहस हुँदा आन्दोलनका उपलब्धिहरुबाट पछि हट्न नपाइनेमा दुवै नेताले जोड दिएका छन् ।
समानुपातिक हटाए २४० निर्वाचन क्षेत्र मान्य हुने सक्ने केही नेताहरुको अभिव्यक्तिप्रति संकेत गर्दै यादव र भट्टराईले भनेका छन्, ‘संघीयता, गणतन्त्र, धर्मनिरेपक्षता, समावेशीता जस्ता विषयलाई नकारात्मक प्रभावपार्ने र उल्ट्याउन खोज्ने कुनै पनि गतिविधि हामीलाई स्वीकार्य हुने छैन ।’
आफुहरुले पहिले देखिनै तीन वटै निर्वाचन एकै चरणमा हुनु पर्ने विषय उठाउँदै आएको उल्लेख गर्दै नेता यादव र भट्टराईले ‘पहिले स्थानीय तहको निर्वाचन गरियो । स्थानीय तहको निर्वाचन पछि स्वतः प्रदेशको चुनाव सम्पन्न गर्नु नै सान्दर्भिक र उपयुक्त हुनेछ’– भनेका छन् ।
२४० को बहसले संघीयता र समावेशिता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई प्रतिकूल असर गर्ने भएकाले तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य सुरु गरियोस्,–वक्तव्यमा भनिएको छ ।