arrow

बढुवा सिफारिश संगठनको हितमा -गृहमन्त्री शर्मा, इन्टरनेट बिनाको इमेल प्रविधि सुरु 

logo
प्रकाशित २०७४ साउन २ सोमबार
janardan-sharma.jpg.jpeg

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक र नायब महानिरीक्षकमा गरिएको बढुवा सिफारिश संगठनको हितमा रहेको बताएका छन् । 

आइतबार ५९ औँ प्रहरी सञ्चार दिवशको अवसरमा प्रहरी प्रधान कार्यालयमा अयोजित कार्यक्रममा मन्त्री शर्माले बढुवा गर्दा कतिपय व्यक्ति विशेष मर्कामा परेपनि संस्थागत रुपमा बढुवाले न्याय गरेको टिप्पणी गरे ।

उनले भने, “व्यक्तिलाई अन्याय परेको होला, नियतवश अन्याय गरेको छैन, समस्या र परिस्थितिले सबै व्यक्ति सीमित कोटामा पर्न सकेनन् ।” 

प्रहरीका संगठनका लागि आवश्यक केही थप ऐन कानूनको आवश्यकता रहेको उल्लेख गर्दै उनले राष्ट्रिय सुरक्षाको सन्दर्भमा नयाँ ढंगले परिभाषित र परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए । 

साइबर अपराध कसरी नियन्त्रण गर्ने भन्नेबारे केही दिनअघि श्रीलंकामा सम्पन्न सार्क गृहमन्त्रीस्तरीय बैठकमा एक देशले अर्को देशलाई कसरी सहयोग गर्ने भन्नेबारे पनि छलफल भएको जानकारी दिए । 

कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरीका वरिष्ठ अधिकारी अतिरञ्जित प्रचारमा संलग्न रहेको भन्दै त्यो बन्द गर्न निर्देशन दिए । 

इन्टरनेट बिनाको इमेल प्रविधि सुरु 

सो अवसरमा गृहमन्त्री शर्माले इन्टरनेट बिनाको इमेल प्रविधि एचएफ रेडियो डाटाको उद्घाटन गरे । रेडियो प्रविधि र कम्प्युटर प्रविधिको कुराकानी नै इमेल प्रविधि हो, यो प्रविधिको प्रयोगले जहाँ इन्टरनेट सुविधा छैन त्यहाँबाट इमेल र फोटो पठाउन सकिन्छ । 

यो सूचना चुहावट नहुने सुरक्षित प्रविधिसमेत भएकाले यो प्रविधि सुरक्षा निकायमा उपयोगी हुने देखिन्छ । कार्यक्रममा गृहमन्त्री शर्माले प्रविधियुक्त प्रहरी आजको आवश्यकता भएकाले प्रविधिको तीव्र विकासलाई पछ्याएर मात्रै आजको समाजलाई सहज बनाउन सकिने बताए । 

अपराध अनुसन्धान प्रविधिबिना सम्भव नभएकाले सुरक्षा चुनौती सामना गर्नका लागि प्रविधियुक्त प्रहरी निर्माण गर्नुपर्ने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ