arrow

पशुपतिमा साउने सोमबारको अवसरमा भक्तजनको भीड, यस्तो छ साउन महिना र सोमबारको महत्व

logo
प्रकाशित २०७४ साउन २ सोमबार
pashupatinath-temple.jpg.jpeg

काठमाडौँ । साउन महिनाका सोमबारमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहजरुपमा प्रवेश गराउन सबै तयारी पूरा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

साउन महिना र सोमबार भगवान् शिवको महिना र बार मानी धेरै दर्शनार्थीले पशुपतिमा दर्शन गर्ने भएकाले विशेष तयारी गरिएको हो । 

साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउनको सोमबार व्रत बसी शिवको आराधना गरे अटल सौभाग्य प्राप्ति हुने विश्वासले पनि पशुपतिमा महिलाको भीड लाग्ने गर्छ । 

यस वर्षको साउने सोमबारमा पशुपतिमा तीन स्थानबाट लाममा बसी दर्शन गर्ने व्यवस्था मिलाइएको कोषका निर्देशक एवम् पशुपति मन्दिर र गुठी शाखा प्रमुख भोला सिटौलाले जानकारी दिए । 

यस वर्ष साउन महिनामा पाँचवटा सोमबार परेकाले बढी भीड हुने अनुमान गरिएको छ । 

यसअघि व्रत नबसेकाले पाँच सोमबार परेको साउनबाटै सुरु गर्ने मान्यता रहेकाले पनि बढी भक्तजन आउने अनुमान गरिएको हो । 

पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणमूर्र्ति–रुद्रगाडेश्वर–वासुकी मन्दिर हुँदै उत्तरढोकाबाट छिरेर दर्शन गर्ने गरी मार्ग कायम गरिएको छ । 

यो मार्गबाट छिर्नेले कैलाश डाँडामुनि जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको छ । दर्शन गरिसकेपछि भक्तजन छिरेकै मार्गबाट बाहिर निस्कनुपर्नेछ । 

दोस्रो लाम गौशाला–भुवनेश्वरी–शंकराचार्य मठ–पश्चिम सानो ढोकाबाट पसेर दर्शन गरी सोही मार्गबाट बाहिर निस्कनुपर्नेछ । यो मार्गबाट छिर्नेका लागि पश्चिम मूलढोकामा जुत्ता चप्पल फुकाल्ने प्रबन्ध गरिएको छ । 

तेस्रो लाम गौशाला, वनकाली वा पिंगलास्थान चक्रपथचोकबाट चार शिवालय हुँदै पञ्चदेवल पूर्व भएर दक्षिण ढोकाबाट प्रवेश गरेर दर्शन गर्ने व्यवस्था मिलाइएको निर्देशक सिटौलाले बताए । 

यो मार्गबाट छिर्नेका लागि दक्षिण मूलढोका बाहिर जुत्ता चप्पल राख्ने गरी व्यवस्था गरिएको छ । 

साउनको सोमबार बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा शुद्ध जल चढाउन चाहनेका लागि भुवनेश्वरीबाट प्रवेश गरी लाम नबसीकन मन्दिर छिर्न दिइने भएको छ ।

विशेष पूजा गर्नेका लागि आर्यघाटबाट पूर्वढोका हुँदै मन्दिर प्रवेश गरेर पूजा गरी सोही मार्गबाट फर्कने व्यवस्था गरिएको छ । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान ६ बजे अघि नै भुवनेश्वरीबाट प्रवेश गरी दर्शन गरेर सोही मार्गबाट फर्कन सक्नेछन् । 

साउनभर स्वास्थ्य शिविर, चिया र प्रसाद वितरणका लागि मुख्य क्षेत्रबाट बाहिरैको भागमा व्यवस्था गरिएको छ । साउनको सोमबार डेढ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको उनले बताए । 

सोमबारबाहेक साउनका अन्य दिन दैनिक ५० हजार भक्तजनले दर्शन गर्न सक्नेगरी तयारी गरिएको छ । 

साउन महिना र सोमबारको महत्व 

सूर्य दक्षिणको बाटो हिँड्न सुरु गर्ने साउन महिना र सोमबार शास्त्र अनुसार भगवान् शिवको महिना र बार भएकाले पूजा, आराधनाका लागि उत्तम समय भएको बताउँछन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम । 

भगवान् शिवले चन्द्रमालाई शिरको जटामा धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । साउनको सोमबार व्रत गरी एक छाक खाएमा सन्तान नहुनेले सन्तान, विद्या चाहनेले विद्यालगायत मनोकांक्षा पूरा हुने भनी हेमाद्रीले रचना गर्नुभएको ‘चतुर्वर्ग चिन्तामणि’, मित्र मिश्रले रचना गर्नुभएको ‘वीरमित्रोदय’ लगायत ग्रन्थमा उल्लेख गरिएको अध्यक्ष गौतमले जानकारी दिए । 

महिलाले मात्र नभई पुरुषले पनि साउन महिना र सोमबार व्रत गर्न सक्ने शास्त्रमा वर्णन गरिएको उनले सुनाए । महिलाले हरियो चुरा, पोतेलगायत कपडा लगाउनु प्रकृतिसँगको सामीप्यता भएकाले यो वैज्ञानिक भएको अध्यक्ष गौतमको भनाइ छ । 

हरियो सामग्री चन्द्रमाको प्रतीक भएकाले शीतलता, सुख, शान्ति प्रदान गर्छन् । यसबाट भगवान् शिव प्रसन्न भई मनोकांक्षा पूरा गर्नुहुने धार्मिक विश्वास छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ