arrow

चितवनमा एक दिनमा एक सय ८३ मतदाता थपिए

logo
प्रकाशित २०७४ साउन २ सोमबार
vote.jpeg.jpeg

चितवन। निर्वाचन आयोगले मतदाता नामावलीमा फोटोसहितको नाम छुटेकाहरुको फोटो खिचाउन १५ दिनको समय दिएपछि आइतबार एकै दिन यहाँ एक सय ८३ जनाले फोटोसहितको नाम लेखाएका छन्।

जिल्ला निर्वाचन कार्यालय चितवनमा यसअघि फोटो खिच्न छुटेर मतदान गर्न नपाएका र उमेर पुगेकाहरुले फोटो खिचाउने अवसर पाएका हुन्।

साउन १ गतेबाट १५ गतेसम्म मात्रै जिल्ला निर्वाचन कार्यालयमा छुटेका र उमेर पुगेकालाई यो अवसर दिइएको हो। कार्यालयमा फोटो खिचाउन आउनु भएका ५८ वर्षीय मैतबहादुर कामीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम नहुँदा यसअघि निर्वाचनमा मतदान गर्न नपाई फर्किनु परेको गुनासो गरे।

विगत तीनवटा निर्वाचनमा मतदानबाट वञ्चित हुनुपरेको बताउँदै उनले नाम लेखाउन पाउने भएपछि भरतपुर महानगरपालिका–१६ मङ्गलपुरबाट फोटो खिचाउन आएको बताए । पहिले नाम मात्रै भए पनि मतदान गर्न पाउने व्यवस्था थियो। संविधानसभाको पहिलो निर्वाचनयता फोटो अनिवार्य गरिएको छ।

भरतपुर–११ की २२ वर्षीया मोनिका पौडेलले स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकामा आफ्नो अधिकारबाट वञ्चित भएको बताउँदै यसपटक पहिलो दिन नै फोटो खिच्न आएको प्रतिक्रिया दिए।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले १६ वर्ष पुगेर नागरिकता लिएकाले फोटो खिचाएर मतदाता नामावलीमा नाम लेखाउन पाउने बताए। तर मतदान गर्न भने १८ वर्ष पूरा हुनुपर्ने प्रावधान रहेको छ। जिल्लामा हालसम्म तीन लाख १३ हजार तीन जना मतदाता रहेका छन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ