arrow

मधेश केन्द्रित दलले परिणाम स्विकार गरेर संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न तयार छौं: साउद

कांग्रेस र राजपा एउटै गुरुका दुई चेला हुन: रघुवीर 

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
np-sauth-congress.jpg

काठमाडौं। प्रमुख दल नेपाली कांग्रेसका नेता एन.पी. साउदले राजपाले लगायत असन्तुष्ट पक्षहरुले संशोधन प्रस्ताव पास वा फेल जे भएपनि परिणाम स्विकारेर निर्वाचनमा जाने प्रतिबद्धता जनाए आफूहरु तत्काल संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्न तयार रहेको बताएका छन्। 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै साउदले भने,‘प्रस्ताव निर्णयार्थ पेश गर्नेबारे हामी छलफल गरिरहेका छौं, प्रस्तावलाई निर्णयार्थ पेश गर्छौं, परिणामलाई राजपाले स्विकार्न तयार हुनुपर्छ, दुई तिहाई पुर्याउन हाम्रो कोशिस रहन्छ, यदि प्रस्ताव फेल भयो भने पनि राजपा चुनावमा जान तयार हुनुपर्छ।’ 

उनले एमालेले प्रस्ताव पास गर्नै हन्न भन्नु र राजपाले पनि दुई तिहाईको सुनिश्चितता खोज्नु दुवै अतिवादी सोच रहेको टिप्पणी गरे। उनले भने,‘एमाले र राजपाको अतिवादीलाई चिरेर हामी एउटा निश्कर्षमा पुग्छौं।’

आयोजित साक्षात्कारमा बोल्दै नेता साउदले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग फाष्ट ट्र्याकबाट गठन गर्ने तयारी गरिरहेको समेत जानकारी दिए। उनले भने,‘प्रधानमन्त्रीज्युले १५ दिनभित्रै फाष्ट ट्रयाकबाट कानून ल्याएर निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने तयारीमा हुनुहुन्छ, यसको लागि निर्वाचन आयोगसँग सघन छलफल भैरहेको छ।’ 

उनले सकेसम्म भोलि नै मन्त्रिमरिषद विस्तार हुने समेत दाबीगरे। साउदले थपे,‘आजसम्म कार्यदलले छलफल गरेर अन्तिम टुँगो लगाउँछ, संभवत भोलि नै नभए पर्सि विहानसम्म सबै मन्त्रालयले मन्त्री पाउँछ, अब धेरै कुर्नुपर्दैन्।’ उनले प्रधानमन्त्री देउवाले नेतृत्वको गठबन्धनको सरकारले नै बाँकी निर्वाचनहरु समयमै सम्पन्न गर्ने समेत विश्वास दिलाए। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता रघुवीर महासेठले असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचन अब कसैलेपनि चाहेर नरोकिने स्पष्ट पारेका छन्। उनले भने,‘निर्वाचन अब कसैले चाहेर पनि रोकिँदैन, एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ।’

नेता महासेठले सदनमा विचाराधिन संशोधन प्रस्तावलाई यथास्थितिमा आफूहरुले समर्थन नगर्ने स्पष्ट पारेका छन्। ‘अहिले सदनमा रहेको संशोधन प्रस्तावलाई हामी समर्थन गर्न सक्दैनौं, प्रस्ताव परिमार्जन भएर आउँछ भने हामी सकारात्मक हुन्छौं’ उनले अघि भने,‘तर यथास्थितिमा हामी प्रस्तावलाई समर्थन गर्न सक्दैनौं।’

उनले चुनावअघि संशोधनको कुनै संभावना नरहेको समेत जिकिर गरे। महासेठले भने,‘चुनावअघि संशोधन हुने मैले कुनै संभावना देखेको छैन, जनताले अहिले निर्वाचन चाहेका छन्।’

राजपाले सरकारको विरोध गर्नु गलत भएको टिप्पणी गरे। उनले भने,‘अब राजपाले सरकारको विरोध गर्नुको कुनै कारण छैन, विरोध गर्नुभन्दा बरु तुरुन्त सरकारलाई दिएको समर्थन फिर्ता दिएर जनतामा गए भैगयो नि, राजपामा अहिले देखिएको प्रमुख समस्या भनेको नै आत्मनिर्णय गर्न सक्ने क्षमता भएन, सरकारलाई जुन शक्तिले समर्थन गर भन्यो, त्यही शक्तिले फिर्ता नगर्न दबाब दिएको छ, त्यही भएर उहाँहरुले फिर्ता लिन सक्नुभएको छैन।’ उनले प्रश्न गरे,‘सानो निर्णय लिनपनि किन शक्ति केन्द्र धाउनुपर्यो ?’

उनले राजपालाई चुनावमा आउन नदिने कांग्रेसले नै गेम प्लान गरिरहेको आरोप लगाए। उनले भने,‘कुनै न कुनै बहानामा कांग्रेसले राजपालाई चुनावमा आउन चाहिरहेको छैन, किनकी कांग्रेस र राजपा एउटै गुरुका दुई चेला हुन्।’ उनले आफ्नो पार्टीले चुनावमा राजपाको उपस्थिति चाहेको समेत जिकिर गरे। उनले राजपालाई चुनावमा जानको लागि सरकारले गर्नुपर्ने न्यूनतम कामहरु समयमै गरिदिनुपर्ने समेत माँग गरे। 

महासेठले राजपाले चुनावमा भाग नलिनुको कारण हार्नुपर्ने स्थितिको सामना गर्न नसक्नु डरपनि रहेको आरोप लगाए। उनले निर्वाचन समयमै सम्पन्न गर्नको लागि तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न समेत माँग गरे। महासेठले संसदको निर्वाचन क्षेत्र बढाउने कुरा आफूहरुलाई मान्य नहुने समेत जिकिर गरे। उनले भने,‘संसदको संख्या १६५ बाट १६६ पनि हुन सक्दैन्, यही १६५ पनि बढि नै हो।’

चुनाव हुन्न र हुन दिन्नौं भन्नेहरुलाई जनताले नै जनताले नै अब साथ नदिने उनको भनाई थियो। ‘संशोधन प्रस्ताव देखाएर चरण–चरणका चुनाव बहिष्कार गरिरहे मधेशमा स्वयम् राजपाको अस्तित्व समाप्त हुन्छ,’उनले थपे,‘त्यसैले चुनावमा जाऔं, जनताले अहिले चुनाव चाहेका छन्।’ उनले वर्तमान सरकारका गठबन्धन दलहरुले राजपालाई ठगिरहेको समेत बताए। 

उनले संसदको म्याद एक वर्ष थप्ने सत्तारुढ दलहरुले प्रयास गरिरहेको कुरा बाहिर चर्चामा आएकोप्रति टिप्पणी गर्दै भने,‘यो मनको लड्डु घिउसँग खाने कोशिसमात्रै हो, माघ ७ गतेभित्रै सबै निर्वाचन गर्नुपर्छ।’ 

राष्ट्रिय जनता पार्टी नेपालका नेता रामनरेश राय यादवले संसदनमा विचाराधिन संविधान संशोधन प्रस्ताव तत्काल निर्णयार्थ पेश नभए व्यवस्थापिका–संसद छोडेर सडकमा जाने चेतावनी दिएका छन्। 

नेता यादवले संशोधन प्रस्ताव तत्काल निर्णयार्थ प्रस्तुत नगरे आफूहरु संसद छोडेर सडकमा जाने चेतावनी दिएका हुन् । उनले भने,‘संशोधन प्रस्ताव तत्काल भोटिङ्मा लैजानुपर्छ, हामी भोटिङ्बाट आउने परिणाम स्विकार गरेर चुनावमा जान तयार छौं।’ 

उनले संशोधन प्रस्ताव पारित होस भनेर नै आफूहरुले चाहेको समेत स्पष्ट पारे। उनले थपे,‘जंग लड्न मैदानमा उत्रिएपछि हारजित त भैहाल्छ नि, तर हार्नको लागि कोही पनि लडाई लड्दैन, हामी परिणाम स्विकार गर्न तयार छौं।’ उनले सरकारले आफूहरुलाई चुनावमा जान नदिनको लागि यसअघिका दुई चरणको निर्वाचनमा पनि बेरियर लगाईदिएको आरोप लगाए। 

उनले आफूहरु निर्वाचनमा सहभागी हुनको लागि २४ सै घण्टा तयारी अवस्थामा रहेको समेत जिकिर गरे। उनले भने,‘राजपा जुनसुकै बेला पनि चुनावमा सहभागी हुन तयारी अवस्थामा छ, हामी पुर्ण तयारीका साथ बसेका छौं।’ यद्धपी उनले ६ दल मिलेर जब राजपा पार्टी बन्यो त्यही दिनदेखि काठमाडौंमा ठूला दल भनाउँदाहरुलाई उकुसमुकुस हुन थालेको आरोप लगाए। 

नेता यादवले राजपा निर्वाचनमा सहभागी भयो भने एकल आफ्नो पक्षमा परिणाम ल्याउने समेत उद्धघोष गरे। तर उनले आफूहरुलाई निर्वाचनमा सहभागी हुन नदिनको लागि प्रमुख तीन ठूला दलहरुले बेरियर लगाईदिएको आरोप लगाए। ‘सत्तारुढ दलले म कुटेजस्तो गर्छु तर रोएजस्तो गर भनेर प्रतिपक्षी दल एमालेलाई भन्छ, अनि एमाले पनि त्यही गरिरहेको छ, यो नाटक मञ्चन हो, उनले अघि भने,‘अब केटाकेटी खेल खेल्नुभएन।’

उनले सरकारले सामान्य रुपमा गर्न सक्ने कामहरु समेत नगरेको गुनासो पोखे । उनले प्रश्न गरे,‘के सहिद घोषणा गर्नको लागि दुई तिहाई चाँहिन्छ र ? सरकारले गर्नुपर्ने काम ईमानदारिताका साथ गरिदिनुपर्यो, किन आलटाल गरिरहेको छ, यो मैले बुझ्न सकेको छैन।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ