arrow

एकीकरण हुन लागेकै हो त नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच ?

‘बाबुरामले उपेन्द्रलाई अध्यक्ष स्वीकार्ने कुरा तीन महिना अघि नै टुंगिएको थियो’

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
baburam-and_Upendra.png

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र  बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण हुने चर्चा फेरि चुलिएको छ ।

दुवै पार्टी एकीकरणको गृहकार्यमा जुटेका छन् । स्थानीय तहको चुनावमा एउटै चुनाव चिन्ह लिएर सहभागि भएका यी दुई दलले सुखद् नतिजा ल्याउन सकेनन् । दुई चरणको स्थानीय तहको चुनावमा आएको परिणामको समीक्षा गरेर दुवै दल एकीकरण गर्ने निष्कर्षमा पुगेका बताइएको छ ।

यद्यपि, दुई दलको एकीकरणका लागि समन्वय गर्न बनेको कार्यदलका संयोजक राजेन्द्र श्रेष्ठले तत्कालै केही प्रगति भइहाल्ने अवस्था नरहेको बताएका छन् । उनले भने, ‘एकीकरणको कुरा अहिले चलेको होइन । पहिले देखि नै हो । तर, अहिले नै हुने भन्ने छलफल भएको छैन । खै म कार्यदलको संयोजक हुँ । मलाई थाहा छैन ।’

संघीय समाजवादी फोरमको सह–अध्यक्ष समेत रहेका नेता श्रेष्ठले पार्टीको नीति, सिद्धान्त र विधानको विषय तीन महिना अघि नै टुंगिसकेको बताए । उनले भने, ‘सैद्धान्तिक विषयहरुमा पहिले नै सहमति भइसक्यो । अहिले सांगठनिक संरचना, पार्टीको झण्डा, चुनाव चिन्ह लगायत आन्तरिक विषयहरु मिलाउनु पर्ने हो । त्यस विषयमा छलफल भएको छैन ।’

संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठक आउँदो ११, १२ र १३ गते बस्दै छ । जसको छलफलको मूल एजेण्डा पार्टी एकीकरणको विषय समेत हुनेछ । अहिलेसम्म पार्टी एकीकरणको मूल जिम्मा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, नयाँ शक्ति संयोजक बाबुराम भट्टराई र फोरम वरिष्ठ नेता अशोक राईलाई दिइएको फोरमका मुख्य सचेतक डा. शिवजी यादवले बताएका छन् ।

उनले भने, ‘अबको बैठकबाट केही ताजा जानकारी आउला ।’ नयाँ शक्तिले पनि त्यही समयमा बैठक बोलाएको छ ।
नयाँ शक्तिले ९ र १० गते कार्यकारी समिति बैठक बोलाएको छ भने, ११ र १२ गते संघीय परिषदको बैठक बोलाएको छ ।
अहिलेसम्म बैठकको तयारी हुँदा पार्टी एकीकरणबारे कुनै छलफल नभएको नयाँ शक्ति संयोजक भट्टराईका निजी सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।

बाबुरामले उपेन्द्रलाई अध्यक्ष स्वीकार्ने
एकीकरण भएपछि बाबुराम भट्टराईले उपेन्द्र यादवलाई अध्यक्ष स्वीकार गर्ने समझ्दारी भइसकेको छ । तीन महिना अघि नै यो विषय टुंगिएको बताइएको छ । सहअध्यक्ष श्रेष्ठले भनेका छन्, ‘अध्यक्ष को बन्ने भन्ने कुरामा कुनै शंका छैन ।

अध्यक्ष उपेन्द्र यादव नै हुने कुरा त पहिले नै टुंगिसकेको छ । संसदको उपस्थिति र पहिलेनै दर्ता भएको पार्टीको हिसाबले मात्रै नभई पार्टीको संघर्षका हिसाबले यादवनै अध्यक्ष हुने कुरा प्रष्ट भइसकेको छ ।’ भट्टराईले ती सबै कुरा बुझेरै एकीकरणको प्रक्रिया अघि बढेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ