राजपालाई अर्को हैरानी : हृदयेश त्रिपाठीलाई मनाउन अध्यक्षमण्डलको बैठक
प्रकाशित २०७४ साउन ५ बिहिबार
988
Shares
काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता हृदयेश त्रिपाठीले माग गरेको केन्द्रीय समितिको बैठकबारे अध्यक्ष मण्डलले छलफल गरेकको छ ।
राजपाको अध्यक्ष मण्डल पार्टी भावना विपरीत चलेको, पार्टी दर्ता गराउँदा दलभित्रका अन्य नेताहरुसँग सल्लाह नगरेको, विधान त्रुटीपूर्ण रहेको गुनासो त्रिपाठीले गरेका छन् ।
दोस्रो चरणको चुनावताका जिल्लातिर गएका त्रिपाठी काठामाडौ आएपछि राजपाका नेताहरुले गरेका छलफलमा सहभागि भएनन् । उनी आफु विरामी रहेको भन्दै बैठकमा हुन मानेनन् ।
महन्थ ठाकुरपछि आफु नै वरिष्ठतम् रहेको जिकिर गर्ने त्रिपाठीले पार्टी दर्ता हुँदा आफुलाई नसोधेको भन्दै असन्तुष्टि पोखिरहेका छन् । पार्टी दर्ता र विधान बनाउँदा भएका त्रुटीहरु सच्याउनका लागि उनले साउन १५ गतेभित्र केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थिए । साउन १ गते रुपन्देहीको भैरहवामा नारायणीदेखि पश्चिमका असन्तुष्ट नेताहरुको भेला भएको थियो ।
त्यही विषयमा छलफल गर्नका लागि विहिबार अध्यक्ष मण्डलका बैठक बसेको नेताहरुले बताएका छन् । त्रिपाठीले राखेका विषयमा अध्यक्ष मण्डलका सदस्यले छलफल गरेका छन् । विधानलगायतका विषयमा कहाँ त्रुटी छ त्यसको विषयमा केन्द्रीय समितिको बैठकमा नै छलफल हुने राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले जानकारी दिएका छन् ।
राजपा नेपालको असन्तुष्ट पक्षले पार्टीमा जथाभावी पदाधिकारी चयन गरेको र चाहिँदा-नचाहिँदा व्यक्तिहरुलाई राखेर कार्यसमिति जम्बो बनाएको आरोप लगाएको छ । त्रिपाठीले अध्यक्ष मण्डलमा रहेका सदस्यप्रति असन्तुष्टि जनाउँदै आएका छन् । ६ दललाई एक ठाउँमा ल्याउने आफुले नै पहल गरेको र वरियतामा पनि आफु पछि बसेर कुरा मिलाएको उनले बताएका छन् ।
उद्यपि, अहिले आफुलाई आफुभन्दा कनिष्ठहरुले समेत सोध्न छोडेको भन्दै उनले सम्मानजनक स्थान खोजेका छन् । केन्द्रीय समितिको बैठक कहिले बस्ने कुरा भोली बस्ने अध्यक्ष मण्डलको बैठकले तय गर्ने बताइएको छ । आजको बैठकमा पार्टीको अन्तरिक विषयमा मात्र छलफल भयो, समय अभावका कारण राजनीतिक विषयमा कुनै छलफल नभएको बैठक स्रोतले बताएको छ । भोली पुनः बस्ने बैठकबाट केही राजनीतिक विषयमा निर्णय लिने बताइएको छ ।