पूर्व राजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख
प्रकाशित २०७४ साउन ६ शुक्रबार
479
Shares
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।
बुधबार बिहान मुटुको उपचारका लागि अस्पतालमा भर्ना भएका पूर्वराजा शाहको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिएका अध्यक्ष थापाले स्वास्थ्यलाभको कामना पुस्तिकामा हस्ताक्षरसमेत गरेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजिओप्लाष्टी गरिएकामा अहिले उनको अवस्था सुधारोन्मुख बन्दै गएको उपचारमा संग्लन डा यादवदेव भट्टले अध्यक्ष थापालाई जानकारी गराए ।
उनलाई शुक्रबार घर पठाइने अस्पतालले जनाएको छ । उनको उपचारमा मुटुरोग विशेषज्ञ भट्ट नेतृत्वको टोलीमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा डा किशोरजङ राणा संलग्न छन् । रासस