'गणेशमान र बिपीको कार्यशैलीले आजसम्म कांग्रेस बाँचेको छ'
प्रकाशित २०७४ साउन ७ शनिबार
471
Shares
काठमाडौँ । पैतिसौँ बिपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित बिपी कोइराला र लोककल्याणकारी राज्य विषयक अन्तरक्रियामा नेपाली कांग्रेसका महामन्त्री डा शशांङक कोइरालाले नेतालाई सम्मान दिने गणेशमानजी र कार्यकताको माया, ममता र हेरविचार पुर्याउने बिपीको कार्यशैलीका कारण आजसम्म नेपाली कांग्रेस् बाँचेको छ बताए ।
एमबिबिएस पढन आफ्नो धेरै नम्बर भए पनि कार्यकर्ताकी थोरै नम्बर ल्याउने छोरीलाई सिफारिस गरिदिएपछि बिपीसँग बिलौना गरेको स्मरण सुनाउँदै महामन्त्री डा कोइरालाले बिपीले त्यसबेला कार्यकर्ताको छोरीलाई सिफारिस गरेर न्याय गरेको चर्चा गरे।
मेलमिलापको नीति लिएर स्वदेश फर्कने बिपीको विचारप्रति लामो समयसम्म बहस भएको स्मरण गर्दै महामन्त्री कोइरालाले गणेशमानजी लगायतका नेताले नेपाल फर्कने बित्तिकै झुन्ड्याइ दिए भने के गर्ने ? भन्ने प्रश्नमा बिपीले म पहिला जान्छु, यदि मलाई झुन्ड्याए भने राजनीतिक माहौल बन्छ, त्यसको नेतृत्व तपार्इंहरुले गर्नुपर्छ भनेर भनेको कुरा पनि स्मरण गराए ।
सांसद उमेश श्रेष्ठले नेपाली कांग्रेसले नेतृत्व गरेर लोकतन्त्र र समृद्धिको एजेण्डालाई अघि बढाउन र शिक्षालाई आमूलपरिवर्तन गरेर व्यवहार मुखी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे।
आयोजक संस्था बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले बिपीले अघि सार्नुभएका सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको हुँदा विषय विज्ञलाई ती विषयमा छलफल गरेर लागू गर्ने विषयको शुरुवात गर्न लागिएको जानकारी दिए । रासस