arrow

काँग्रेस बैठकमा अर्न्तघातकै बहस : काँग्रेसले काँग्रेसलाई हरायो, एमालेले जनताको भावनासँग खेल्यो

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
congress_news.jpg

काठमाडौं । व्यवस्थापिका संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको समीक्षा गरिरहेको छ । शनिबारबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकको दुई सेसन चल्दा २० जना केन्द्रीय सदस्यले धारणा राखे ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले दुई चरणको स्थानीय तह निर्वाचमा व्यहोरेको परिणाबारे बढी समय खर्चिए । उनीहरुले समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनको रणनीतिबारे समेत कुरा राखे । बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टीभित्रको बेमेल र कमजोरीका कारण स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा झर्नु परेको तर्क गरे । उनीहरुले घुमाउरो भाषामा एक अर्कालाई दोषारोपण गरेका छन् ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी पदाधिकारी नियुक्त गर्न नसकेकोदेखि उम्मेदवार छनोटमा कमजोरी हुँदा स्थानीय तह चुनावमा अपेक्षाकृत परीणाम नआएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरे ।

महाधिवेशन भएको डेढ वर्ष भइसक्दा पनि सभापति देउवाले पदाधिकारी नियुक्ति गर्न, केन्द्रीय समिति र विभागहरुलाई पूर्णता दिन नसकेको भन्दै आपत्ति जनाएका पौडेलले पार्टीका सबै रिक्त पदहरु पूर्ति गर्न फेरि ध्यानाकर्षण गराए ।

नेता पौडेलले सानेपा र सिंहदरबारलाई चुस्त बनाउनु पर्ने समेत बताए । उनले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनामा उम्मेदवार छनोटमा देखिएको त्रुटि २ नम्बर प्रदेशको चुनावमा सच्याउनु पर्नेमा जोड दिए ।

तत्काल संसदीय समिति गठन गर्न माग गरेका पौडेलले त्यही समितिमार्फत प्रदेश नम्बर २ को चुनावमा उम्मेदवार छनोट गर्नुपर्ने प्रस्ताव राखे । बैठकमा बोल्ने अन्य सदस्यहरुले पार्टी दोस्रो बन्नुमा उम्मेदवारी चयनमा भएको गल्ती र अन्तर्घातलाई नै मुख्य कारण भने ।

यस्तै, काँग्रेस नेताहरुले एमालेले तत्कालीन फाइदाका लागि उठएको राष्ट्रियताको मुद्दाको भ्रम चिर्न नसक्नु समेत कारण रहेको बताएका छन् । काँग्रेस नेताहरु निर्वाचनमा जनताले पत्याएनन् भनि स्वीकार्नै नसकिने बताइरहेका छन् ।  नेताहरु जनताको चाहना कांग्रेस नै हो तर, काँग्रेसले कांग्रेसलाई हरायो र अर्न्तघात भयो भन्ने बहसमै रुमलिएका छन् ।

केन्द्रीय सदस्य नविन्द्रराज जोशीले टिकट वितरणमा भएको कमजोरी र उम्मेदवारी चयनको ढिलाईले घाटा लागेको बताए । उनले भने, ‘आफ्नै कारणले गर्दा यस्तो अवस्था आएको हो ।’ सोचे अनुरुपको नतिजा नआउनुको मूख्य कारण आन्तरिक व्यवस्थापन र अन्र्तघात रहेको भन्दै केन्द्रीय सदस्य प्रकाशशरण महतले, ‘उम्मेदवारी समयमा टुंंग्याउन नसक्दा हामीले त्यसको बेफाइदा व्यहोर्नु परेको हो ।’

उनीहरुले एमालेले गरेको प्रपोगाण्डा चिर्न नसक्दा र जनतालाई बुझाउन नसक्दा घाटा भएको समेत बताएका छन् । नेताहरुले एमालेले जनताकाे भावनासँग खेलेकाे अाराेप समेत लगाएका छन्  । अब २ नम्बर प्रदेको निर्वाचनले काँग्रेस नै पहिलो पार्टी बन्ने उनीहरुको भनाई छन् । नेताहरुले भनेका छन्, ‘हिजो राणा र पञ्चायतमा तराइमै बसेर संघर्ष गरिएको आधारहरु छ । पहिले देखि राम्रो जनाधार रहेकैले पनि दुई नम्बर प्रदेशमा काँग्रेसले नै सबैभन्दा बढी सिट ल्याउँछ ।’ त्यसका लागि उनीहरुले परिचालन बलियो हुनु पर्ने आवश्यकता औँल्याएका छन् ।

६ वटा प्रदेशमा सम्पन्न भइसकेको स्थानीय निर्वाचनमा ४९ स्थानीय तह प्रमुखले पछि परेको काँग्रेस अब २ नम्बर प्रदेशमा हुने निर्वाचनबाट त्यसको क्षतिपूर्ति भराउने तयारीमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ