arrow

युवा सङ्घ स्थायी समितिको बैठकले ९ औं महाधिवेशनको टुङ्गो लगाउँदै 

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
yuba-sangh.jpg

काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्घ नेपालले ९ औँ महाधिवेशनको टुङ्गो लगाउन स्थायी समितिको बैठक सुरु भएको छ । 

महाधिवेशनका लागि गत वैशाखमा मिति निर्धारण गरिएको भएपनि स्थानीय तहका चुनाव भएका कारण महाधिवेशन हुन सकेको थिएन । 

सङ्घमा असन्तुष्ट पक्षले महाधिवेशनको माग गरिरहेको बेलामा बसेको सो बैठकलाई अर्थपूर्ण मानिएको छ । 

उक्त बैठकमा प्रादेशिक संरचनाअनुसार सङ्घको व्यवस्थापनलाई समायोजन गर्ने, स्थानीय तहको समीक्षा तथा आर्थिक राजनीतिक र सामाजिक विषयमा छलफल केन्द्रित छ । 

आइतबारसम्म जारी रहने उक्त बैठकले देशको संरचनाअनुसार सातै प्रदेशमा सङ्गठनका गतिविधि सञ्चालन गर्न विधान परिवर्तनका लागि विधान मस्यौदा उपसमितिलगायत अन्य समिति निर्माण गर्नेछ । 

सङ्गठनका इन्चार्ज एवम् नेकपा एमाले पार्टीका पोलिटब्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा स्थानीय जनतालाई देशको अवस्था तथा पार्टीको आदर्श र सिद्धान्तका बारेमा बुझाउन युवा सङ्घलाई निर्देशन दिएको केन्द्रीय कार्यालय प्रमुख प्रभातविक्रम कटुवालले जानकारी दिए । 

संविधान संशोधन मधेसका जनताका पक्षमा नरहेको विषय त्यस क्षेत्रका जनतालाई बुझाउन राजनीतिक अभियान सञ्चालन गर्न युवालाई निर्देशन दिँदै उनले पार्टीलाई पहिलो नम्बरमा स्थापित गर्न आग्रह गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ