विद्यार्थी विद्यालयबाट निस्कँदा आफैँ उद्यम गर्न सक्ने
प्रकाशित २०७४ साउन ८ आइतबार
154
Shares
राष्ट्रिय युवा परिषद्ले विद्यालय र क्याम्पस तहका शैक्षिक संसथाहरुमा ‘एक शैक्षिक संस्था एक उद्यम’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
विद्यार्थीहरुलाई उद्यमततिर आकर्षण गर्ने उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको परिसद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिए। चालु आर्थिक बर्ष देखी लागु गरिने कार्यक्रममा विद्यार्थीले प्रत्यक्ष रुपमा विद्यालयमा सञ्चालन भएको उद्यममा सहभागिता जनाउने छन् ।
विद्यार्थीलाई विद्यालय तहदेखि नै रोजगारतर्फ आकर्षित गराउनका लागि अभियान सञ्चालन गर्ने तयारीमा रहेको र अभियानसगैँ विद्यार्थी विद्यालयबाट निस्कँदा आफैँ केही गर्न सक्ने बनाउने उद्देस्य रहेको ढुंगेलले जानकारी दिए। परिषद्ले कृषितर्फ मत्स्यपालन, कुखुरापालन, गाईपालन र तरकारी खेती तथा प्राविधिक तर्फका उद्यम सञ्चालन गर्न सहयोग गर्नेछ । विद्यालयका शिक्षकको समूहले के उद्यम सञ्चालन गर्ने भन्ने छनोट गर्ने र त्यसबारे परिषद्लाई जानकारी गराइएपछि परिषद्बाट सहयोग गरिने छ ।
आफूले पढेका कुरालाई व्यावहारिक रुपमा विद्यार्थीहरु उक्त अभियानमार्फत सञ्चालन हुने उद्यममा काम गर्ने छन् । यसले गर्दा विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञानसमेत प्राप्त हुनेछ । विद्यालयमा विद्यार्थीको एक क्लब गठन गरेर उद्यममा सहभागिता गराइने र उक्त क्लबको इञ्चार्जको जिम्मेवारीमा उद्यमको रेखदेख गरिने छ । विद्यार्थीले विद्यालय समयमा निःशुल्क रुपमा उक्त उद्यममा काम गर्न पाउने छन् ।
उद्यमबाट प्राप्त आम्दानी विद्यार्थीको क्षमता वृद्धि विकासमा प्रयोग गरिने साथै विद्यालय वा प्रत्येक विद्यार्थीबाट केही रकम उठाइने र बाँकी रकम परिषद्ले सहयोग गरेर उद्यम सञ्चालन गर्ने योजना रहेको ढुंगेलले बताए ।
विद्यालयमा एउटा कोष खडा गरेर उद्यम सञ्चालन गर्ने योजना रहेको बताएका छन् । पहिलो पटक काठमाडौँस्थित पिनाकल विद्यालयले नमुनाका लागि उद्यम सञ्चालन गर्ने प्रतिबद्धता परिषद्सँग व्यक्त गरिसकेको छ ।
परिषद्का प्रशासकीय प्रमुख मुक्तिसिंह ठकुरीले चाँडै सबै सामुदायिक विद्यालयलाई उद्यम सञ्चालनबारे जानकारी दिइने बताए । परिषद्ले उद्यम गर्न सक्ने विद्यालय छनोट गरेर सञ्चालनमा सहयोग गर्ने छ । ‘‘हामीले उद्यम सञ्चालन गर्न सक्ने विद्यालयको छनोट गर्नेछौँ’’ उनले भने, ‘‘छनोट गरिसकेपछि आवश्यक सहयोग दिन्छौँ ।’’ रासस