मधेसमा मातृकाले जन्माए नयाँ संगठन, ‘एक मधेस एक प्रदेश’मा जोड बल
साथमा नयाँशक्ति पनि
प्रकाशित २०७४ साउन ८ आइतबार
326
Shares
काठमाडौं । मूलधारका ठूला दलले मधेसको समस्यालाई गिजोलेको र मधेसी जनतामा भ्रम सिर्जना गरेको भन्दै मधेस मुद्दाका चिन्तकहरुले नयाँ संगठनको जन्म दिएका छन् ।
मधेस केन्द्रीय राजनीति गर्दै आएका पहिचानवादी दलहरुको आन्दोलन टुंगिएको छैन । मधेस संघर्षले उठान गरेका मुद्दाहरु कमजोर पारिएको र समस्या जस्ताको त्यस्तै रहेको भन्दै शनिबार नयाँ संगठनको जन्म भएको हो ।
‘एक मधेस एक प्रदेश’को मागलाई शान्तिपूर्ण ढंगले उठान गर्ने भन्दै पाँच सदस्यीय ‘मधेसी भ्वाइस एसेम्बली’ गठन भएको छ ।
एसेम्बलीमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मातृका यादव, राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी र नयाँ शक्ति नेपालको केन्द्रीय संरक्षक परिषद् सदस्य डा.रामकेवल साह रहेका छन् ।
नयाँ शक्ति नेपालको केन्द्रीय संरक्षक परिषद् सदस्य डा.साहले हाम्राकुरासँग भने, ‘अहिले जति पनि कन्फ्यूजन र न्फिलिट् देखिएको छ । जसरी मूलधारका दलले आ–आफ्नो तवरले व्याख्या गरिरहेका छन् । त्यो सबै गलत छ । धरातलीय कुरा के हो भनेर हामीले बुझाउन खोजका हौँ ।’ यो नितान्त राजनीतिक स्वार्थ भन्दामाथि रहने छ । यसको मोभिलाइज नागरिक स्तरबाट हुने छ, उनले भनेका छन् ।
मधेसको खास समस्यालाई बुझ्दा बुझ्दै भइरहेको बेइमानीबारे हामी नागरिकलाई सचेत गराउने छौँ, उनले भने, ‘यो कुनै राजनीतिक स्वार्थ समूह होइन । राजनीतिक पूर्वाग्रह रहँदैन । नागरिकको भावना र धरातलीय कुरा के हो ? हामी त्यसमा केन्द्रीत हुँन्छौँ ।’ डा. साहले आफुहरुले स्वतन्त्र व्यक्ति र विज्ञहरुको सुझाव लिने र नागरिसँग साक्षात्कार गर्ने बताए ।
उनले अगाडि भनेका छन्, ‘यो एसेम्बलीको प्रयोजन भनेकै जनताको मूल भावना राष्ट्रिय मूलधारमा ल्याउनु हो । जसले मधेसी जनतालाई राष्ट्रिय मूलधारमा समाहित गर्ने छ । जसले समानुपातिक समावेशी प्रतिनिधित्वलाई सार्थक बनाउने छ ।’
इमान्दारिताका साथ मधेसका जनतालाई राष्ट्रिय मूलधारमा समाहित गर्ने हो । यो कुनै विखण्डनको नारा घन्काउनका लागि होइन, डा. साहले भने । थारु, मधेसी, आदिवासी जनजाति सबै कलस्टरलाई एक ठाउँमा राखेर छलफल गरिने उनले बताए ।
राजनीतिक दलमा आवद्ध तपाईहरुको प्रयासलाई नागरिकले कसरी बुझ्छन् ?
उनले भनेका छन्, ‘नागरिकले मानवीय दृष्टिले मधेसको मुद्दा उठान गर्ने अभियानका रुपमा बुझ्ने छन् । जहाँ नागरिक अभियान र सत्याग्रहबाट अघि बढ्ने भनिएको छ ।’ यसलाई प्रायोजित भन्यो भने ? जवाफमा उनले भने, ‘हामी राजनीतिक रुपमा कुनै न कुनै पार्टीमा संलग्न हुन्छौँ नै । हाम्रो धर्म सधैँभर दलप्रति बफादार भइरहनु मात्रै होइन । मानवीय धर्म निभाउन हामी एसेम्बली गठनको निचोडमा पूगेका हौँ । यो ठूलो दबाब समूह बन्ने छ ।’
मूलधारका ठूला दलले मधेसलाई राष्ट्रिय समस्याका रुपमा लिएनन् हो ? जवाफमा उनले भनेका छन्, ‘राष्ट्रिय समस्या हो भन्ने थाहा छ । तर, थाहा भएर पनि बेइमानी भइरहेको छ । समस्या ठाने तर, त्यसलाई समाधान गर्न आवश्यक ठानेनन् । बेइमानी भयो । समस्या समाधानका लागि कसैले ठोस खाका तयार पार्न सकेनन् ।’
एसेम्बलीकै एक सदस्य मातृका यादवले मधेशको एजेण्डा तथा संघीयता, समावेशीलगायतका विषयमा मधेशी जनतामा चेतना फैलाउन संयुक्त मोर्चा निर्माण गरिएको बताए ।
वृहत आन्दोलनको तयारी गर्नुको साथै तराई मधेशका विभिन्न क्षेत्रमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाइरहेको समेत नेता यादवले जानकारी दिए ।
मधेशमा वृहत गठबन्धन निर्माण नगरेसम्म राज्यसँग अधिकार लिन नसकिने भन्दै राजपा नेता महेन्द्र राय यादवले दलीय स्वार्थले मधेशको आन्दोलन कमजोर भएको स्वीकार गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेर मधेशमा विशाल आन्दोलन भयो । यद्यपि, मोर्चाका नाममा सहादत दिएकाहरुकै आत्माले शान्ति पाउनेसम्मको उपलब्धी भएन, नेता यादवले भनेका छन् । उनले अगाडि भने, ‘मधेशी नेताको आपसी कटुताका कारण मधेशी मोर्चा विघटन भयो ।’ मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर राजपा गठन भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अस्तित्व समाप्त भएको छ ।