पत्रकार महासंघको महाधिवेशन फेरि पनि सार्ने प्रचञ्च भइरहेको भन्दै प्रेस युनियनको आपत्ति
प्रकाशित २०७४ साउन ९ सोमबार
140
Shares
काठमाडौं । नेपाल पत्रकार महासंघले महाधिवेशन फेरि पनि सार्ने प्रपञ्च गरिरहेको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै ‘महासंघको भदौ ४ र ५ मा गर्ने भनिएको महाधिवेशन फेरि पनि सार्नेगरि भइरहेको प्रपञ्चको हामी भण्डाफोर गर्दछौं, भनेका छन् ।
कारोवार प्रतिष्ठानमा नाम भएका पत्रकारहरुलाई मतदान गर्न नदिएपछि उत्पन्न विवादको अहिलेसम्म हल निकाल्ने प्रयास नभएको, विभिन्न जिल्ला शाखामा संस्थागत रुपमा साथीहरुलाई निषेध गरिएको तथा इलाम, भोजपुर र रसुवामा क्रियाशिल पत्रकारहरुलाई वाहिर राख्ने षडयन्त्र भएको जस्ता दृष्टाक्त पेश गर्दै युनियनले महासंघ यस्तै षडयन्त्रमा लागिरहने हो भने कडा प्रतिकारमा उत्रने चेतावनी पनि दिएको छ ।
यस्तो छ विज्ञप्ति–
प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ आफ्नो महाधिवेशनको सम्मुखमा छ। महाधिवेशन नजिकिदै गर्दा महासंघ नेतृत्वले गरेका तयारीहरुलाई हामीहरुले नजिकबाट नियालिरहेका छौ। सबै विवाद र समस्याहरुलाई सकाएर महाधिवेशनमा ध्यान केन्द्रित गर्नुपर्नेमा महासंघ नेतृत्व अझै पनि महासंघ कब्जाको मानसिकताबाट माथि उठ्न नसकेको उसका गतिविधिले देखाएको छ।
महासंघ नेतृत्व आफ्नो केन्द्रीय समितिलाई समेत छल्दै अझै पनि शाखा खोल्ने, नयाँ सदस्यता थप्ने, पार्सद बढाउने काममा लागेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। केन्द्रीय समितिको जानकारी विना सौर्य दैनिकमा प्रतिष्ठान शाखा खोल्ने, पर्यटन पत्रकार समुहका नाममा एकलौटी शाखा खोल्ने, विभिन्न प्रतिष्ठानहरुमा सदस्य संख्या थप्दै पार्सद बढाउने कार्य अहिले तीव्र गतीमा भइरहेको छ। यी सबै गतिविधी गरि विवाद निम्त्याएर महासंघ नेतृत्वले आफ्नो कार्यकाल बढाउने प्रपञ्च गरेको हाम्रो आशंका छ।
कारोवार प्रतिष्ठानमा नाम भएका पत्रकारहरुलाई मतदान गर्न नदिएपछि उत्पन्न विवादको अहिलेसम्म हल निकाल्ने प्रयास भएको छैन। विभिन्न जिल्ला शाखामा संस्थागत रुपमा साथीहरुलाई निषेध गरिएको छ। इलाम, भोजपुर र रसुवामा क्रियाशिल पत्रकारहरुलाई वाहिर राख्ने षडयन्त्र भएको छ। त्यहाँ क्रियाशिल पत्रकार साथीहरुले समानान्तर कार्यमसिति गठन गर्नुभएको छ। तर महासंघले ति समस्या समाधानमा ध्यान नदिइ वर्दिया, अछाममा प्रायोजित विवाद निकाल्ने काम भएको छ।
महासंघ नेतृत्वको पछिल्ला यि गतिविधीले समयमै महाधिशवेन गर्ने कुरामा गम्भिर प्रश्न समेत खडा गरेको छ। पटकपटक सार्दै भदौ ४ र ५ मा गर्ने भनिएको महाधिवेशन फेरि पनि सार्नेगरि भइरहेको प्रपञ्चको हामी भण्डाफोर गर्दछौ। साथै तोकिएको मितिमा महाधिवेशन गर्ने वातावरण निर्माणको लागि महासंघ नेतृत्वलाई सचेततापूर्वक ध्यानाकर्षण गराउँछौ। जय नेपाल।