arrow

वीरमा क्यान्सर पिडितलाई सहयोग गर्न ३५ लाखको कोष स्थापना

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
bir-cancer.jpg

काठमाडौँ।  शाइलकुमार उपाध्याय एण्ड करेन बास ट्रष्टद्धारा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्यान्स) वीर अस्पतालमा ३५ लाखको अक्षय कोष स्थापना गरिएको छ । क्यान्सर रोग लागेर उपचार गर्न समस्यामा परेका विपन्न तथा गरिब परिवारका बिरामीलाई केमोथेरापी औषधी प्रदान गर्न कोषमा जम्मा भएको वार्षिक ब्याजबाट सहयोग गरिनेछ ।

विदुषी राणाले ट्रष्ट मार्फत आफ्ना ठूलोबुवा संयुक्त राष्ट्रसङ्घका पूर्व कुटनीतिज्ञ स्व शाइलकुमार उपाध्याय र उनकी प्रेमिका स्व करेन बासको सम्झनामा तीन महिनाअघि ट्रष्ट  स्थापना गरेकी थिइन् । उनी ट्रष्टका ट्रष्टी पनि हुन् ।  पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सोमबार न्यान्सका उपकूलपति डा गणेश गुरुङलाई उक्त सहयोग रकम हस्तान्तरण गरे।

पूर्व स्वास्थ्य मन्त्री थापाले स्व उपाध्यायले अमेरिकामा बसेर ‘एलाइन्स फर डेमोक्रेसि’ अभियान मार्फत नेपालको प्रजातान्त्रिक आन्दोलनलाई  सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको सम्झना गरे।‘‘ नेपालका प्रजातान्त्रिक आन्दोलनका अभियन्तालाई पनि उहाँले सहयोग गर्दै आउनुभएको थियो, पुराना प्रजातान्त्रिक व्यक्तित्वले आज पनि उहाँलाई सम्झनुहुन्छ,’’उनले भने।

आफु मन्त्री हुदाँ क्यान्सरको लागि सहयोग रकम बढाउन खोजेको भएपनि चिकित्सकको सल्लाहमा क्यान्सर प्रोटोकल बनाइएको पूर्वमन्त्री थापाको भनाई छ । उनले भने,‘‘ क्यान्सरको अवस्था फरक हुने भएकाले उपचारबाट कसैले बन्चित हुन नपरोस भनी प्रोटोकल बनाइएको हो, अब आउने नयाँ मन्त्रीले यो कुरालाई अगाडि बढाउनु हुन्छ भन्ने विश्वास छ ।’’

न्याम्सका उपकूलपति डा गणेश गुरुङले कोष मार्फत लक्षित बिरामीलाई सहयोग प्राप्त हुने बताए ।उनले वीरमा आउने बिरामीमध्ये ७० प्रतिशतको उपचार निशुल्क हुने भन्दै बाँकी बिरामीले पनि कम शुल्कमा उपचार सेवा प्राप्त गर्ने गरेको उल्लेख गरे ।क्यान्सर रोगको उपचारलाई अझ स्तरीय बनाउन विश्वकै उत्कृष्ट टोमो थेरापी मेसिन ल्याउन प्रक्रिया सुरु भइसकेकोले आमागी ४ महिना भित्र मेसिन अस्पतालमा आइसक्ने उपकूलपति गुरुङले जानकारी दिए ।

क्यान्सरले स्वयम् बिरामीलाई मात्र नभई सिङ्गो परिवारलाई पनि विक्षिप्त बनाउने भएकाले महङ्गो उपचारका कारण उपचार नपाई कसैले ज्यान गुमाउन नपरोस् भनी कोष स्थापना गरेको ट्रष्टी राणाले बताइन् । स्व उपाध्यायले कहिले विवाह नगरेपनि प्रेमिका बास्कोसँग करिब ४० वर्ष लिव इन रिलेनशनसिपमा भएको राणाले बताइन् ।

उनले भनिन,‘‘ ठूलोबुबा उहाँकी प्रेमिका स्व बास्को छातीको क्यान्सरबाट मृत्यु भएपछि गहिरो शोकमा पर्नुभयो,  त्यही पीडाले बास्को मृत्यु भएको नौँ महिनामै उहाँको पनि मृत्यु भयो, यो सहयोगले एक जनाको मात्र जविन रक्षा भएमा वहाँ खुसी हुनुहुनेछ भन्ने लागेको छ  ।’’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ