बागलुङ कालिकामा बार्षिक १ करोड भन्दा बढि भेटी संकलन
तीन रोपनी व्यक्तिगत जग्गा निःशुल्क गुठीलाई दान
नारायण रिजाल,
प्रकाशित २०७४ साउन १० मंगलबार
287
Shares
बागलुङ । जिल्लाको प्रसिद्ध ऐतिहासिक बागलुङ कालिका भगवती मन्दिरमा बार्षिक १ करोड घन्दा बढी भेटी संकलन हुने गरेको छ । आ.व ०७३÷०७४ मा मात्रै मन्दिरबाट १ करोडं १५ लाख ३९ हजार ८ सय ९१ रुपैयाँ भेटी संकलन भएको हो । मन्दिरको आम्दानी र खर्चलाई पारदर्शी र व्यवस्थित बनाउनका लागि कालिका गुठीले आफैँ संकलन गर्दै आएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।
आ.व २०७३÷०७४ को श्रावण १ गते देखि असार मसान्तसम्मको अवधिमा ५९ लाख ८८ हजार ६ सय ३७ रुपैयाँ भेटी मात्र संकलन भएको हो । गुठीले भक्तजन एवं दर्शनार्थीहरुबाट चढाएकोे दान तथा भेटी दान बक्समा संकलन गरी प्रत्येक दिन बेलुका सुरक्षाकर्मी, मालपोत प्रतिनिधी, कार्यरत कर्मचारी तथा गुठी समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितीमा संकलन गर्ने गर्दछ ।
मन्दिरमा बोका, कुखुरा, राँगो, हाँसको मुढबाट मात्र १४ लाख ५० हजार ५ सय २४ संकलन भएको छ । गत आ.व.मा मन्दिरबाट ८ हजार ८ सय ७५ जोडी परेवा विक्री भएका थिए । जसबाट मन्दिरमा ३५ लाख ५० हजार २ सय संकलन भएको थियो । परेवाको प्रति जोडी रु ४ सयमा विक्री हुदै आएको छ ।
मन्दिरमा चढ्ने अक्षता विक्रीबाट २ लाख १८ हजार ३ सय रुपैया,३ सय ६३ जना भक्तजन एवं दर्शनार्थीहरुबाट गुठीको रसिद लिएर ७५ हजार १ सय २० चढाएका थिए । सोही अवधिमा १ लाख ५० हजार ९ सय ६० रुपैयां विविध कार्यबाट प्राप्त भएको थियो । कालिका मन्दिर व्यवस्थापनका लागी जम्मा रु २६ लाख ७६ हजार ९ सय ५२ रुपैयां ८४ पैसा खर्च भएको छ ।
विगतमा ठेकेदार तथा भक्तजनहरु मुढको विषयमा समस्या देखिदैँ आएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए । ‘ठेकेदार मार्फत भेटी संकलन हुँदा ५० देखि ७० लाख मात्र हुने गथ्र्यो । स्वच्छ र पारदर्शीता कायम गर्नका लागि गुठी आफैँले भेटी संकलन गर्न थालिएको अधिल्लो वर्षको तुलनमा २५ लाख ३४ हजार १ सय १७ रुपैया बढी संकलन भएको हो ।
त्यस्तै कालिका भगवती मन्दीरका लागि बाग्लुङ नगरपालिका—९ की हाल बानपा—२ मा व्यवसाय गरी बस्ने रुपा थापाले ३ रोपनी आफ्नो निजी जग्गा मन्दिरलाई निःशुल्क प्रदान गरेकी छन । पर्वत कुस्मा नगरपालिका—१ मा रहेको छ लाख रुपैयाँ बढि मूल्य पर्ने जग्गा बाग्लुङ कालिका मन्दिरलाई दान स्वरुप हस्तान्तरण गरेकी छिन् ।
थापाले आफुले जग्गा भोग चलन नगर्ने भएपछि आफ्नो नाममा रहेको जग्गाको लालपुर्जा बाग्लुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिलाई नामसारी गरी हस्तान्तरण गरेको बताईन् । ६ लाख भन्दा बढि पर्ने तीन रोपनी खेत मन्दिरका नाममा बकस दान दिएकी उनलाई केही समय अगाडी कालिका भगवती गुठीले सम्मान गरेको थियो ।