ट्राफिक प्रहरी महाशाखा हाँक्न आइपुगे सर्वेन्द्र खनाल
प्रहरी प्रवक्तामा कार्की
प्रकाशित २०७४ साउन १० मंगलबार
529
Shares
काठमाडौं । डिआइजी बढुवाको सूचीको एक नम्बरमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सवेन्द्र खनाल महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएका छन् । पछिल्लो समय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका खनाल डिआइजी बढुवाको एक नम्बरमा परेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।
ट्राफिक प्रहरीको कारबाही गतिलो नभएको भन्दै महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक डीआइजी मिङमार लामालाई हटाएर खनाललाई ल्याइएको बताइएको छ ।
महाशाखामा रहेका नायव महानिरीक्षक मिङ्मार लामालाई केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा सरुवा गरिएको छ । गृहमन्त्री जनार्दन शर्माले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै यसलाई सुधार गर्नसक्ने अधिकृतलाई त्यहाँ पठाउन प्रहरी महानिरीक्षकलाई दिएको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले खनाललाई महाशाखामा पठाएको हो ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले खनाललाई मंगलबारनै हाजिर हुने गरी महाशाखा पठाए । महाशाखा आउने वित्तिकै खनाल छलफलमा व्यस्त भएका छन् । उनले उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका समस्या तत्काल समाधानको पहल गर्ने बताएका छन् ।
अपराध महाशाखामा बस्दा थुप्रै उदाहरणीय काम गरेका खनाल महाशाखा आएसँगै उनका प्रहरी प्रमुख बन्ने बाटो समेत खुल्ने छ । यसअघि प्रहरी प्रमुख भएका उपेन्द्रकान्त अर्याल र वहालवाला प्रहरी प्रमुख प्रकाश अर्याल समेत ट्राफिक प्रहरी महाशाखाबाटै प्रहरी प्रमुखको शिखर चढेका हुन् । खनाल कार्यसम्पादन मूल्याङ्कनका आधारमा डीआईजी बढुवा सूचीको पहिलो नम्बरमा छन् ।
प्रहरी प्रवक्तामा कार्की
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक पुष्कर कार्कीलाई दिइएको छ । यसअघिका प्रवक्ता सर्वेन्द्र खनालको महानगरीय ट्राफिक प्रहरी महाशाखामा सरुवा भएपछि कार्की प्रवक्ताको रुपमा आएका हुन् ।
प्रवक्ता कार्कीले प्रहरीसम्बन्धी आवश्यक सूचना पारदर्शी बनाउन तथा सञ्चारमाध्यम र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउन आफूले सक्दो पहल गर्ने बताए । कार्की प्रहरी महानिरीक्षक सचिवालयमा कार्यरत थिए । उनलाई गृह मन्त्रालयले प्रहरीको नायव महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ ।