मन्त्रिपरिषद् विस्तार वुधबार मात्रै : महिला जम्मा १, काँग्रेस शून्य, सबै गुटकै हुल
मन्त्रीको टुंगो लाग्यो, मन्त्रालय टुंगिएन
प्रकाशित २०७४ साउन १० मंगलबार
351
Shares
काठमाडौं । काँग्रेसबाट सरकारमा सहभागि हुने मन्त्रीको टुंगो लागेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार विहान मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मन्त्रीहरुको नाम टुंगिएको छ, मन्त्रीको सिफारिसमा परेका एक नेताले भने, ‘मन्त्रालय के–के दिने भन्ने विषयमा छलफल जारी नै छ ।’
मन्त्रीहरुको नाम टुंगो लगाएपनि रामचन्द्र पौडेल समूहले मन्त्रालयको टुंगो नलागि आफुहरु सहभागि नहुने अडान लिएपछि ढिलाई भएको हो । मंगलबारै मन्त्रिपरिषद् विस्तारको तयारी थियो । पौडेल समूहले चार जनाको नाम बुझाएको छ । यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी र रामकृष्ण यादव पौडेल समूहको सिफारिसमा परेका छन् ।
पौडेल समूहबाट मन्त्री बन्न लागेका सबै पहिलो पटक मन्त्री बन्न लागेका प्रत्यक्ष निर्वाचित सांसद हुन् । बलबहादुर केसीको चर्चा भएपनि सिफारिसमा परेनन् । यस्तै, सरिता प्रसाई र कमला पन्तको नाम पनि चर्चामा थियो । यद्यपि, पार्टी सभापति शेरबहादुर देउवा समूहबाट महिला मन्त्री पर्ने भएपछि पौडेल समूहबाट महिला परेनन् ।
प्रमुख सत्ता साझेदार माओवादी केन्द्रसँग भएको सहमति अनुसार काँग्रेसले १३ मन्त्रालय पाउनेछ । दोस्रो चरणको मन्त्रिपरिषद् विस्तारमा देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबाट ४ र कृष्ण सिटौला र खुमबहादुर खड्का समूबाट एक–एक मन्त्री बन्नेछन् । यसअघि, गोपालमान श्रेष्ठ उपप्रधानसहित शिक्षामन्त्री, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री र फरमुल्लाह मन्सुर श्रम मन्त्री भइसकेका छन् । तीनै जना देउवा समूहका हुन् ।
अब दलितबाट मीन विश्वकर्मा मन्त्री बन्दै छन् । यस्तै, देउवा पक्षकै अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत मन्त्री हुने छन् । देउवा पक्षबाट महिला बाहेकका अन्य व्यक्तिको नाममा हेरफेर हुन सक्ने पनि बताइँदै छ । सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम सिफारिस भएको छ ।
उता, ९ मन्त्रालय लिन सहमत भएको माओवादी केन्द्रबाट कृष्णबहादुर महरा उपप्रधान तथा परराष्ट्र, जनार्दन शर्मा गृह र प्रभु साह शहरी विकास मन्त्री भइसकेका छन् । देउवाको मन्त्रिपरिषद्मा मुस्लिम, मधेसी र जनजातिको यसअघि नै प्रतिनिधित्व भइसकेको छ भने अब दलित र महिलाको प्रतिनिधित्व हुन बाँकी छ । यद्यपि, फुलमन्त्रीमा जम्मा एक जना महिलाको नाम सिफारिस भएको छ । संविधानमा महिला प्रतिनिधित्व ५० प्रतिशत भनिएपनि जम्मा एक जना फुल मन्त्री दिन लागेका देउवाको यसअघि नै आलोचना भइसकेको छ । पहिलो चरणमा महिला सहभागि गराउनु पर्नेमा देउवाले त्यसो गरेनन् । दोस्रो चरणमा पनि पुरुषकै हुल बढाए ।
काँग्रेसको मन्त्री सिफारिसलाई लिएर काँग्रेसभित्र वितृष्णा सिर्जना भएको छ । मन्त्रीको भागबण्डालाई लिएर पार्टीभित्रबाट जज्जा बोध भएका धारणाहरु आएका छन् । काँग्रेसका एकजना चिन्तकले भने, ‘मन्त्रीको लागि प्रष्टै व्यक्ति पिच्छेका समूह देखिए । दुई दिन सरकारमा बस्न यति धेरै लोभ गर्नु भनेको लोक लाज नहुनु हो । कि संसदीय दलले छानेर पठाउनु । नभए सभापतिलाई यसरी छान्नुस् भनेर छोडिदिए भइहाल्थ्यो नि ! मन्त्री नहुँदा के वित्छ र ?’ सकारमा काँग्रेस शून्य देखियो, उनले चिन्ता गर्दै भने, ‘सबै गुटकै हुल भयो ।’ यसरी काँग्रेसको उपस्थिति कहाँनेर रहयो ? उनले प्रश्न गरे ।