विद्युत कटौतीलाई ‘कमाइ खाने भाँडो’ बनाउन दिन्न : ऊर्जा मन्त्री शाही
एसएसलीवाला शाहीले देखाउलान् खुबी
प्रकाशित २०७४ साउन ११ बुधबार
476
Shares
काठमाडौँ । नवनियुक्त ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत्भार कटौती हुन नदिनु आफ्नो प्रमुख उद्देश्य भएको बताएका छन् ।
मन्त्रालयमा वुधबार पदबहाली गरेलगत्तै उनले भने, “विद्युतभार कटौतीलाई लुट्ने, ‘कमाइ खाने भाँडो’ र ‘दुहुनो गाई’का रुपमा प्रयोग गरेका छन् । अब कसैले यसबाट दूध खान पाउँदैनन् । कसैले दुध खाने सोच राखेको छ भने उ सधैँ भरीलाई दूध खानबाट वञ्चित हुन्छ ।”
मन्त्री शाहीले विद्युतभार कटौती अन्त्य गरेर मात्रै नपुग्ने र माग पूर्तिका लागि विद्युत् उत्पादनमा जोड दिनुपर्ने विचार राखे । सरकारी र राष्ट्रिय पुँजीपतिवर्गसँग रहेको रकमलाई उपयोग गरी विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिइने उनले बताए ।
मन्त्री शाहीले राष्ट्रिय लगानीले मात्रै जलविद्युत् उत्पादनको पूर्ति नहुने भएकाले आवश्यकता अनुसार विदेशी लगानी भित्र्याइने स्पष्ट पारे ।
उनले मन्त्रालय मातहतका निकायका प्रमुख र कर्मचारीलाई इमान्दारीतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए । कालीकोट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित शाही जनयुद्धकालमा माओवादी लडाकुको डिभिजन कमाण्डर थिए । प्रवेशिकासम्मको अध्ययन गर्नुभएका शाही ४१ वर्ष पुगेका छन् ।