गृहमन्त्री शर्माको नयाँ घोषणा : विदेशमा दुःख पाएकाहरुका लागि प्रहरीमा विशेष व्यूरो
प्रकाशित २०७४ साउन १२ बिहिबार
674
Shares
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको विशेष व्यूरो बनाएर परिचालन गर्ने बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा गृहमन्त्री शर्माले ठगिएका हजारौं उजुरी प्रहरीकहाँ आउने गरेको र ठगिएकाहरुको पैसा फिर्ता नहुँदा कयौँ घरवारविहीन भएको भन्दै चिन्ता गरे ।
उनले भने, ‘यो समस्या समाधान गर्न प्रहरीको छुट्टै व्युरो गठन गरेर परिचालन गर्नेगरी गृह मन्त्रालयले तयारी गरिरहेको छ ।’
त्यो विशेष व्युरोलाई वैदेशिक रोजगारीमा दुःख पाएका नेपाली कामदारको समस्या समाधान गर्ने जिम्मा दिईने छ, मन्त्री शर्माले थपे, ‘बढी नेपाली कामदार भएका मुलुकहरुमा प्रहरी अधिकारी पठाएर समस्या समाधान गर्नेबारे पनि तयारी गरिरहेका छौं ।’
वैदेशिक रोजगारीमा रहेका समस्या समाधान गर्न सरोकारवाला मन्त्रालय, विभाग र म्यानपावर कम्पनीहरुबीच समन्वयको खडेरी रहको औँल्याउँदै मन्त्री शर्माले ‘अवैध रुपमा विदेश जानेलाई रोक्न अध्यागमनको क्षमता अभिवृद्धि गर्नेतर्फ समेत गृह मन्त्रालयले तयारी गरिरहेको छ’, भने ।
उनले भनेका छन्, ‘वैदेशिक रोजगारीमा जाने प्रक्रिया जटिल छ, त्यसलाई सजिलो पार्न आवश्यक छ ।’ तत्काल वैदेशिक रोजगारीमा जान खोज्नेहरुलाई रोक्न नसक्ने हुनाले थप सजिलो पार्न सम्बन्धित मन्त्रालयले सोच्नुपर्छ ।
वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई सरकारले तालिम र प्रशिक्षण दिन नसकेको मन्त्री शर्माको भनाई छ । अहिले पनि विदेश जाने नेपाल कामदार ठगि गर्नेहरुको जालमा पर्ने गरेका छन्, मन्त्री शर्माले भने, ‘म्यानपावरसम्म लगिदिनेहरुले नै ठगि गर्ने गरेका छन् ।’
संसदीय समितिमा मन्त्री शर्माले ‘फ्रि–भिसाको प्रावधानलाई समेत हामीले नियमन गर्न सकेनौं, ठगि गर्नेहरुले फ्रि–भिसा बेचिराखेका छन् । बाहिर १० हजार बुझाएको रसिद दिएर भित्र एक लाख रुपैयाँसम्म असुलिरहेका छन् । यो रोक्नै पर्छ,–भने ।